IPL

स्मिथको अर्धशतकमा बेंगलोरलाई १७८ रनको लक्ष्य

Published

on

कप्तान स्टिभ स्मिथको अर्धशतकको मद्धतमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १७८ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७७ रन बनायो ।

राजस्थानका ओपनरद्वय रविन उथप्पा र बेन सटोक्स पहिलो विकेटका लागि पाँच दशमलब चार ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । १९ बलमा १५ रन बनाएका स्टोक्स आउट भए पनि उथप्पाले ठुलो सट खेल्न छाडेनन् ।

तर आठौं ओभरको चौथों र पाँचौं बलमा युज्बेन्द्र चाहालले २२ बलमा सात चौका र एक छक्का सहित ४१ रन बनाएका उथप्पा र छ बलमा नौं रन बनाएका सन्जु सामसनको विकेट निकाल्दै बेंगलोरलाई खेलमा फर्काउने प्रयास गरे ।

कप्तान स्टिभ स्मिथ र जस बटलरले चौथों विकेटका लागि ४६ बलमा ५८ रन जोड्दै राजस्थानको पारी सम्हाले । तर २५ बलमा २४ रन बनाएका बटलर क्रिस मोरिसको बलमा आउट हुन पुगे । राजस्थाको पारीको अन्तिम ओभरमा आउट भएका स्मिथले ३६ बल खेल्दै छ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ५७ रन बनाए । राहुल टेवाटिया १९ रनमा अविजित रहे ।

बेंगलोरका क्रिस मोरिसले चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने युज्बेन्द्र चाहालले पनि चार ओभरमा नै ३४ रन दिंदै दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

समान ८-८ खेल खेलेका बेंगलोर र राजस्थान अंक तालिकामा क्रमश तेश्रो र सातौं स्थानमा रहेका छन् । आठ खेल मध्य बेंगलोरले पाँच खेलमा जित हात पार्दा राजस्थानले तीन खेलमा मात्र जित दर्ता गराउन सकेको छ ।

Click to comment

Trending