Headline

इमरान खानलाई भेटेपछि मिस्बाहले पाकिस्तानको प्रमुख छनोटकर्ताको पद त्यागे

Published

on

पाकिस्तानका प्रमुख छनोटकर्ता मिस्बाह–उल–हकले आफ्नो पदबाट राजीनामा दिदै मुख्य प्रशिक्षकको काममा मात्र आफू केन्द्रित हुने बताएका छन् ।

लाहोरमा एक पत्रकार सम्मेलन बोलाउदै मिस्बाहले नोभेम्बर ३० देखि आफू राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक मात्र रहने पाकिस्तान क्रिकेट बोर्डलाई जानकारी दिएको बताएका हुन् । मिस्बाह गत सेप्टेम्बरदेखि दुवै पद सम्हाल्दै आइरहेका थिए ।

“म अब जिम्बाब्वेबिरुद्ध हुने श्रृंखलाका लागि खेलाडी चयन गर्नेछु त्यसपछि म मुख्य प्रशिक्षकको भुमिकामा मात्रै केन्द्रित हुनेछु,” आफूलाई पद त्याग्न बोर्डबाट कुनै दवाब नआएको भन्दै मिस्बाहले जानकारी दिए ।

“यो मेरो नितान्त व्यक्तिगत निर्णय हो । मलाई दुई हाई–प्रोफाइल काम एकै पटक गर्न सहज थिएन । त्यसैले म टिमको प्रमुख प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्ट दिन चाहन्छु । नयाँ छनोटकर्तालाई मेरो पूर्ण समर्थन रहनेछ र उनीसँगको राम्रो समन्वय गर्दै पाकिस्तानलाई क्रिकेटको तीनवटै संरचनामा उत्कृष्ट तीनमा राख्न काम गर्नेछु,” मिस्बाहले भने ।

पाकिस्तान राष्ट्रिय टोलीका पुर्व कप्तान समेत रहेका मिस्बाहले आफ्नो निर्णय केही दिन अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको भएको भेटले प्रभावित नरहेको पनि स्पष्ट पारेका थिए । प्रधानमन्त्री तथा पाकिस्तानका लागि १९९२ बिश्वकप बिजेता कप्तान खानसँग मिस्बाहसँगै अजहर अली, मोहम्मदा हफिज लगायतका सिनियर खेलाडीहरुले घरेलु क्रिकेटमा बिभागीय टोलीको सहभागिता बन्द गरेको बिषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

पिसिबीले मिस्बाह र आफ्ना सिनियर खेलाडीहरु कुनै जानकारी बिनै प्रधानमन्त्रीसँग भेट गर्न गएको बिषयलाई लिएर आफू खुशी नभएको बताउदै आएको थियो ।

Click to comment

Trending