IPL

चेन्नाईको सामान्य ब्याटिङ, हैदराबादलाई १६८ रनको मध्यम लक्ष्य

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोश्रो लेगको पहिलो खेलमा गत बर्षको उपविजेता चेन्नाई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई १६८ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६७ रनको सामान्य योगफल तयार पार्यो ।

चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी आजको खेलमा ब्याटिङमा परिवर्तन गर्दै फाफ डु प्लेसिस र साम कुर्रानलाई ओपनिङमा पठाए । तर तेश्रो ओभरको पहिलो बलमा नै डु प्लेसिस सन्दिप शर्माको बलमा गोल्डेन डकआउट हुन पुगे । पाँचौं ओभरमा पहिलो पटक ओपनिङमा ब्याटिङ गर्न आएका कुर्रान पनि २१ बलमा ३१ रन बनाएर शर्माको नै शिकार बन्न पुगे ।

आजको खेलमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शेन वाटसन र अम्बाती रायुडूले तेश्रो विकेटका लागि ६४ बलमा ८१ रनको साझेदारी गर्दै चेन्नाईको पारी सम्हाले । तर एक ओभरको अन्तरालमा ३८ बलमा एक चौका र तीन छक्काको मद्धतमा ४२ रन बनाएका वाटसन र २३ बलमा तीन चौका र दुई छक्का सहित ४१ रन बनाएका रायुडू आउट हुँदा चेन्नाई १६ दशमलब दुई ओभरमा चार विकेटको नोक्सानीमा १२० को अवस्थामा आयो ।

त्यस पछि ब्याटिङमा आएका कप्तान महेन्द्र सिंह धोनी १३ बलमा २१ रन बनाएर आउट भए भने ड्वायन ब्राभो पनि गोल्डेन डक आउट हुन पुगे । अविजित रहेका रविन्द्र जडेजाले १० बलमा तीन चौका र एक छक्का सहित २५ रन तथा दिपक चाहारले दुई रनको योगदान दिए ।

हैदराबादका सन्दिप शर्माले किफायती बलिङ गर्दै चार ओभरमा १९ रन खर्चिएर दुई विकेट हात पारे भने खलिल अहमद र टि नटराजनले महँगो साबित भए पनि समान २-२ विकेट नै आफ्नो नाममा दर्ता गराए ।

चेन्नाई र हैदराबाद दुबैले आजको खेलमा एक एक परिवर्तन गरेको छ । चेन्नाईका पियुष चावला र शबाज नदिमले सुरुवाती ११ मा स्थान बनाएका छन् ।

सात खेलमा तीन जित र चार हार व्यहोरेको हैदराबाद छ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ भने सात खेलमा नै दुईमा जित निकाल्दै बाँकी पाँच खेलमा हारको सामना गरेको चेन्नाई चार अंक सहित अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

यस अघि सम्पन्न पहिलो लेगमा चेन्नाई हैदराबादसँग सात रनको झिनो अन्तरले पराजित हुन पुगेको थियो । १६५ रनको विजयी लक्ष्य पक्ष्याएको चेन्नाईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १५७ रन बनाउन सक्यो र खेल सात रनले हार्न पुग्यो ।

Click to comment

Trending