IPL

बेंगलोरसँग कोलकाताको लज्जास्पद हार 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो सातौं खेलमा कोलकाता नाइट राईडर्सले रोयल च्यालेन्जर्स बेंगलोरसँग ८२ रनको लज्जास्पद हारको सामना गरेको छ । आजको फराकिलो जितसँगै बेंगलोर अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ भने हार पछि कोलकाता चौथों स्थानमा झर्न पुगेको छ ।

सात खेल खेलेको बेंगलोरको यो पाँचौं जित हो । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको पनि समान १०-१० अंक नै रहे पनि नेट रन रेटका आधारमा मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेका छन् भने बेंगलोर तेश्रो स्थानमा रहन गएको हो । कोलकाताको भने सातौं खेलमा यो तेश्रो हार हो ।

जितका लागि १९५ रनको विशाल लक्ष्य लिएर ब्याटिङ गर्न आएको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा ११२ रन मात्र बनाउन सक्यो ।

कोलकाताको तर्फबाट ओपनर शुबमन गिलले २५ बलमा सर्वाधिक ३४ रन तथा आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६-१६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताको पारी ध्वस्त पार्ने क्रममा वाशिंगटन सुन्दर र क्रिस मोरिसले समान २-२ विकेट हात पारे भने नन्दिप साइनी, मोहम्मद सिराज, इसरु उडाना र युज्बेन्द्र चाहालले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । समान ४-४ ओभर बलिङ गरेका चाहाल, मोरिस र सुन्दरले किफायती बलिङ गर्दै क्रमश १२, १७ र २० रन खर्चिए ।

यस अघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १९४ रन बनायो ।

ओपनरद्वय देवदत्त पडिकल र आरोन फ़िञ्चले पहिलो विकेटका लागि सात दशमलब चार ओभरमा ६७ रनको साझेदारी गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिए । २३ बलमा ३२ रन बनाएका पडिकल आन्द्रे रसेलको बलमा बोल्ड भए । फ़िञ्च पनि ३७ बलमा ४७ रन बनाउँदै प्रसिध कृष्णाको बलमा आउट हुन पुगे ।

बेंगलोरले १२ दशमलब दुई ओभरमा ९४ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका एबी डि भिलियर्स सुरुवात देखि नै आक्रमक देखिए । डि भिलियर्सले तेश्रो विकेटका लागि कप्तान कोहलीसँग मिलेर ४७ बलमा अविजित १०० रनको साझेदारी गर्दै बेंगलोरलाई विशाल योगफल सम्म पुर्याए । १०० रन मध्य कोहलीले मात्र २२ रन बनाए भने डि भिलियर्सले ७३ रन बनाए ।

३३ बलको सामना डि भिलियर्सले अविजित रहँदै पाँच चौका र छ छक्काको मद्धतमा सर्वाधिक ७३ रन बनाए भने कप्तान कोहलीले २८ बलमा अविजित ३३ रनको पारी खेले ।

महँगो साबित भए पनि प्रसिध कृष्णा र आन्द्रे रसेल कोलकाताको लागि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending