IPL

कप्तान कोहलीको तुफानी पारीमा चेन्नाईलाई १७० रनको लक्ष्य

Published

on

खासै राम्रो सुरुवात गर्न नसके पनि कप्तान बिराट कोहलीले पारीको अन्त्य तिर तुफानी पारी खेले पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नाई सुपर किंग्सलाई १७० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६९ रन बनायो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले अविजित रहँदै सर्वाधिक ९० रन बनाए । ५२ बलको सामना गरेका उनले समान ४-४ चौका र छक्का प्रहार गरे । छैठौं खेलमा कोहलीको यो दोश्रो अर्धशतक हो भने यस सिजनको व्यक्तिगत उच्च योगफल हो । पहिलो तीन खेलमा मात्र १८ रन बनाउन सकेका कोहलीले राजस्थान रोयल्स विरुद्धको आफ्नो चौथों खेलमा अविजित ७२ रनको पारी खेलेका थिए ।

बेंगलोरले पारीको तेश्रो ओभरमा ओपनर आरोन फ़िञ्चलाई गुमाएर खराब सुरुवात गर्यो ।नै बल खेल्दै दुई रन बनाएका फ़िञ्च दिपक चाहारको बलमा बोल्ड हुन पुगे ।

खराब सुरुवात गरे पनि अर्का ओपनर देवदत्त पडिकल र कप्तान बिराट कोहलीले दोश्रो विकेटका लागि ५३ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । तर बेंगलोरले ३४ बलमा ३३ रन बनाएका पडिकल र दुई बल खेल्दै खाता खोल्न नभ्याएका एबी डि भिलियर्सलाई एकै ओभरमा गुमाए पछि दबाबमा आयो । दुबैलाई शार्दुल ठाकुरले पेभेलियनको बाटो देखाए । वाशिंगटन सुन्दरले पनि १० रन भन्दा जोड्न सकेनन् ।

१४ दशमलब तीन ओभरमा ९३ रनमा चार विकेट गुमाएको बेंगलोरको लागि कप्तान कोहली र शिबम दुबेले पाँचौं विकेटका लागि पाँच दशमलब तीन ओभरमा ७६ रनको साझेदारी गर्दै बेंगलोरलाई प्रतिस्पर्धात्मक योगफल सम्म लिएर गए । १४ बलको सामना गरेका दुबे दुई चौका र एक छक्काको मद्धतमा २२ रन बनाएर अविजित रहे ।

चेन्नाईका शार्दुल ठाकुरले चार ओभर बलिङ गर्दै ४० रन खर्चिएर सर्वाधिक दुई विकेट लिए भने महँगो साबित हुँदै चार ओभरमा नै ४८ रन खर्चिएका साम कुर्रानले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए । किफायती बलिङ गरेका दिपक चाहारले तीन ओभरमा १० रन मात्र खर्चिएर एक विकेट हात पारे ।

आजको खेलमा बेंगलोरले एक परिवर्तन गरेको छ । यस अघि चोटका कारण टोलीमा नपरेका क्रिस मोरिस आज मोइन अलीको स्थानमा सुरुवाती ११ मा पर्न सफल भएका छन् । चेन्नाईले पनि आजको खेलमा एक परिवर्तन गरेको छ । उसले केदार जाधवको स्थानमा एन जगदिसानलाई खेलाउने भएको छ ।

छ खेल खेलेको चेन्नाई दुई जित र चार हारका साथ अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने एक खेल कम खेलेको बेंगलोर पाँचौं स्थानमा रहेको छ । बेंगलोरले तीन जित दर्ता दुई खेलमा हारको सामना गरेको छ ।

दुई टोली बीचको आईपीएलको खेल हेर्ने हो भने चेन्नाई बेंगलोर माथि हाबी रहेको छ ।२४ पटक एक आपसमा भिड्दा १५ खेलमा चेन्नाईले र आठ खेलमा बेंगलोरले जित हात पारेका छन् । एक खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो । पछिल्लो पाँच खेल मध्य चेन्नाईले चार खेलमा जित दर्ता गराउँदा बेंगलोरले एक खेलमा मात्र जित आत्मसाथ गर्न सकेको थियो ।

Click to comment

Trending