IPL

अन्तिम १७ बल सम्हालिन नसक्दा पन्जाब दुई रनले पराजित, लगातार पाँचौं हार व्यहोर्न बाध्य

Published

on

ओपनरद्वय केएल राहुल र मायंक अगरावालको अर्धशतक प्रहार गर्दै जित तर्फ लागे पनि अन्तिम १७ बलमा सम्हालिन नसक्दा इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो सातौं खेलमा किंग्स ११ पन्जाबले कोलकाता नाइट राईडर्ससँग दुई रनको झिनो अन्तरले पराजित हुन पुगेको छ ।

अन्तिम १८ बलमा जितका लागि पन्जाबलाई २२ रन आवस्यक रहेको थियो । १८औं ओभरमा दुई रन मात्र बनाएर एक विकेट गुमाएको पन्जाबले १९औं ओभरमा छ रन बनाए पनि दुई विकेट गुमाउन पुग्यो ।

सातौं खेलमा पन्जाबको यो छैठौं हार हो भने लगातार पाँचौं हार हो । कोलकाताको भने छैठौं खेलमा यो चौथों जित हो। आजको जितसँगै कोलकाता अंक तालिकाको तेश्रो स्थानमा उक्लिन सफल भएको छ ।

जितका लागि १६५ रनको लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १६२ रन बनाउन सक्यो ।

राहुल र अगरवालले पहिलो विकेटका लागि १४ दशमलब चार ओभरमा ११५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए पनि त्यस पछि सम्हालिन नसक्दा पन्जाबले दुई रनको झिनो अन्तरको हारको सामना गर्न पुग्यो ।

३९ बलको सामना गर्दै छ चौका र एक छक्काको मद्धतमा ५६ रन बनाएका अगरवाल आउट भए पछि ब्याटिङमा आएका निकोलस पुरण पनि १६ रन बनाएर पेभेलियन फर्किए । त्यस पछि ब्याटिङमा आएका विकेट किपर ब्याट्सम्यान प्रभसिम्रन सिंहले पनि चार रन मात्र जोड्न सके ।

अर्को एण्डबाट कप्तान राहुलले पन्जाबको पारी सम्हाल्दै जित तर्फ लिएर गए पनि ठुलो सट खेल्ने प्रयास १८ दशमलब छ ओभरमा आउट हुँदा पन्जाबको हार सुनिश्चित बन्यो ।प्रशिद कृष्णाको बलमा आउट भएका उनले ५८ बलको सामना गर्दै छ चौकाको मद्धतमा ७४ रनको पारी खेले ।

अन्तिम ओभरमा जितका लागि छ बलमा १४ रन अवश्य रहेको अवस्थामा ग्लेन म्याक्सवेल क्रिजमा रहे पनि उनले दुई चौका प्रहार गरे पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । अविजित रहेका म्याक्सवेलले पाँच बलमा १० रन बनाए ।

कोलकाताका प्रशिद कृष्णाले चार ओभरमा २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने चार ओभर नै बलिङ गरेका सुनिल नारायणले २८ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको कोलकाताकाले पुरै २० ओभर खेल्दै छ नोक्सानीमा १६४ रन बनायो ।

कोलकाताको तर्फबाट पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान दिनेश कार्तिक र ओपनर शुबमन गिलले क्रमश तथा ५७ रन बनाए । १० दशमलब चार ओभरमा ६३ रनको अवस्थामा तीन विकेट गुमाएको कोलकाताको पारी सम्हाल्ने क्रममामा सम्हालिएर ब्याटिङ गरेका गिलले ४७ बल खेल्दै पाँच चौका र तुफानी पारी खेलेका कार्तिकले २९ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरेका कार्तिकले चौथों विकेटका लागि ८२ रन जोडे ।

खेलमा खराब सुरुवात गरेको कोलकाताले चौथों ओभर भित्रमा कुल स्कोर १४ रन हुँदा चार रन बनाएका अर्का ओपनर राहुल त्रिपाठी र दुई रन बनाएका नितिश रानालाई गुमायो ।

त्यस पछि ब्याटिङ गर्न आएका ओईन मोर्गनसँग मिलेर गिलले तेश्रो विकेटका लागि ४९ रनको साझेदारी गर्दै कोलकाताको पारी सम्हाले । तर २३ बलमा २४ रन बनाएका मोर्गन १० दशमलब चार ओभरमा रवि बिश्नोईको शिकार भए ।

पन्जाबका रवि बिश्नोई र अर्शदिप सिंहले चार ओभर बलिङ गर्दै समान २५-२५ रन खर्चिएर १-१ विकेट तथा मोहम्मद शामीले पनि चार ओभर नै बलिङ गर्दै ३० रन खर्चिएर एक विकेट हात पारे ।

कोलकाता र पन्जाब दुबैले आजको खेलमा १-१ परिवर्तन गरेका छन् । कोलकाताले सिबम मावीको स्थानमा प्रसिध कृष्णालाई सुरुवाती ११ मा स्थान दिएको छ भने पन्जाबले घाइते भएका शेल्डन कोट्रेलको स्थानमा क्रिस जोर्डनलाई टोलीमा समावेस गरेको छ ।

यस अघिका खेलमा आक्रमक ब्याट्सम्यान क्रिस गेललाई सुरुवाती ११ मा स्थान दिएको थिएन भने आजको खेलमा पनि उनलाई बेञ्चमा नै राख्ने भएको छ ।

पन्जाब तालिकाको पुछारमा तथा कोलकाता चौथों स्थानमा रहेको छ । छ खेल खेलेको पन्जाबले पाँच खेलमा पराजय भोगेको छ भने एक खेलमा मात्र जित हात पार्न सफल भएको छ । कोलकाताले भने यस अघि आफुले खेलेका तीन खेलमा जित दर्ता गराउंदा दुई खेलमा हारको सामना गरेको छ ।

आईपीएलमा कोलकाता र पन्जाब २५ पटक एक आपसमा भिड्दा छन् जसमा कोलकाता १७-८ ले अघि रहेको छ । पछिल्लो पाँच खेलमा कोलकाताले तीन तथा पन्जाबले दुई खेलमा जित हात परेका थिए । अघिल्लो सिजन एक आपसमा दुई पटक भिड्दा दुबै खेल कोलकाताले जितेको थियो ।

Click to comment

Trending