IPL

राजस्थान माथि सानदार जित निकाल्दै दिल्ली अंक तालिकाको शिर्ष स्थानमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो छैठौं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्स माथि ४६ रनको सानदार जित हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

छ खेल खेल्दै पाँच खेलमा जित निकालेको दिल्ली १० अंक सहित अंक तालिकाको शिर्ष स्थानमा पुगेको हो । छ खेल नै खेले पनि दोश्रो स्थानमा रहेको मुम्बईको आठ अंक छ । राजस्थान भने छ खेलमा दुई जित मात्र निकाल्न सके पनि चार खेलमा पराजित हुँदै अंक तालिकाको सातौं स्थानमा यथावत रहेको छ ।

जितका लागि १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य लिएर ब्याटिङमा आएको राजस्थानले १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १३८ रन बनाउन सक्यो ।

राजस्थानको तर्फबाट छैठौं नम्बरमा ब्याटिङ गर्न आएका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । अन्तिम ओभरको पहिलो बलमा कागिसो रबाडाको बलमा बोल्ड भएका उनले २९ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे ।

लगातार रुपमा विकेट गुमाएको राजस्थानको तर्फबाट ओपनर येशस्वी जैसवालले ३६ बलमा ३४ रन बनाए भने अर्का ओपनर जस बटलरले पनि १३ रनको पारी खेले । कप्तान स्टिभ स्मिथले २४ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीका कागिसो रबाडा महँगो साबित भए पनि तीन दशमलब चार ओभरमा ३५ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै मार्कस स्टोइनिशले दुई ओभरमा १७ तथा रविचन्द्रन अश्विनले चार ओभरमा २२ रन खर्चदै समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले आठ विकेटको नोक्सानीमा १८४ रन बनायो ।

दोश्रो ओभरको तेश्रो बलमा नै ओपनर शिखर धवन चार रन बनाएर जोफ्रा आर्चरको बलमा आउट भए भने १९ रन बनाएका अर्का ओपनर पृथ्वी श पनि आर्चरको बलमा नै कट एण्ड बोल्ड भए । कप्तान श्रेयस ऐयर २२ रन तथा विकेट किपर रिशब पन्त दुबै रन आउट हुँदा दिल्ली नौं दशमलब दुई ओभरमा चार विकेटको नोक्सानीमा ७९ रनको अवस्थामा खुम्चिन पुग्यो ।

क्रमश पाँचौं र छैठौं नम्बरमा ब्याटिङ गर्न आएका मार्कस स्टोइनिश र शिम्रोन हेटमायरले आक्रमक पारी खेल्दै दिल्लीलाई राम्रो योगफल तर्फ लगे । हेटमायरले २४ बलमा एक चौका र पाँच छक्काको मद्धतमा सर्वाधिक ४५ रन बनाए भने स्टोइनिशले पनि ३० बलमा चार छक्का प्रहार गर्दै ३९ रनको पारी खेले । त्यस्तै हर्षल पटेलले १६ तथा अक्सर पटेलले १७ रनको योगदान दिए ।

राजस्थानका जोफ्रा आर्चरले चार ओभर बलिङ गर्दै २४ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।

यस सिजनको पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गर्यो । हैदराबाद विरुद्ध तेश्रो खेलमा १५ रनले पराजित भएको दिल्लीले चौथों खेलमा कोलकाता नाइट राईडर्सलाई १८ रनले र रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

पहिलो दुई खेलमा लगातार जित दर्ता गराएको राजस्थान पछिल्ला तीन खेलमा भने हारको सामना गर्न बाध्य भएको छ । उसले चेन्नाई सुपर किंग्सलाई १६ रनले र किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गर्यो भने कोलकाता नाइट राईडर्ससँग ३७ रनले, रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले र मुम्बई इन्डियन्ससँग ५७ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

Click to comment

Trending