IPL

मुम्बईद्वारा राजस्थानलाई १९४ रनको विशाल लक्ष्य

Published

on

सुर्य कुमार यादवको उत्कृस्ट अर्धशतकमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो छैठौं खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १९४ रनको विशाल लक्ष्य दिएको छ ।

शेख जयाद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९३ रन बनायो ।

मुम्बईको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सुर्य कुमार यादवले अविजित रहँदै सर्वाधिक ७९ रन बनाए । ४७ बलको सामना गरेका उनले ११ चौका र दुई छक्का प्रहार गरे ।

यादव बाहेक ओपनरद्वय क्विन्टन डि कक २३ र कप्तान रोहित शर्मा ३५ रन बनाएर आउट भए । अघिल्ला खेलहरुमा राम्रो ब्याटिङ गरेका इशान किशान श्रेयस गोपालको बलमा गोल्डेन डक आउट भए । त्यस्तै कुर्नाल पाण्ड्याले पनि १२ रन भन्दा जोड्न सकेनन् भने हार्दिक पाण्ड्याले १९ बल खेल्दै दुई चौका र एक छक्काको मद्धतमा अविजित ३० रनको योगदान दिए ।

राजस्थानका श्रेयस गोपालले चार ओभर बलिङ गर्दै २८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे । त्यस्तै महँगो साबित भए पनि जोफ्रा आर्चर र आजको खेलमा आईपीएलमा डेब्यु गरेका भारत यु१९ टोलीका कार्तिक त्यागीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गर्न सफल भए ।

मुम्बईले आजको खेलमा कुनै परिवर्तन गरेको छैन भने राजस्थानले कार्तिक त्यागी, यशस्वी जैसवाल र अंकित राजपुतलाई सुरुवाती ११ मा समावेस गरेको छ ।

पाँच खेल खेलेको मुम्बई तीन जित दर्ता गर्दै छ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको राजस्थानले दुई जितका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

यस सिजनको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राईडर्सलाई ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो । रोयल च्यालेन्जर्स बेंगलोरसँगको खेल बराबरीमा टुंगिए पनि मुम्बई सुपर ओभरमा पराजित हुन पुग्यो । मुम्बईले त्यस पछिका दुई खेलमा किंग्स ११ पन्जाबलाई ४८ रनले र सनराईजर्स हैदराबादलाई ३४ रनले पराजित गर्यो ।

प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा जित हात पार्दै उत्कृस्ट सुरुवात गरेको राजस्थान पछिल्लो दुई खेलमा भने पराजित हुन पुग्यो । आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले र दोश्रो खेलमा किंग्स ११ पन्जाबलाई चार विकेटले पराजित गरेको राजस्थान कोलकाता नाइट राईडर्ससँग ३७ रनले र रोयल च्यालेन्जर्स बेंगलोरसँग आठ विकेटले पराजित हुन पुग्यो ।

मुम्बई र राजस्थान कुल २३ पटक एक आपसमा भिडेका छन् जसमा दुबै टोलीले ११-११ खेल जितेका छन् भने एक खेल रद्द भएको थियो । उनीहरु आईपीएलमा २१ पटक भिड्दा १०-१० खेल जित्न सफल भएका थिए ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने मुम्बई राजस्थान अघि निरिह रहेको छ । पाँच खेलमा राजस्थानले चार खेलमा जित हात पार्दा मुम्बईले एक खेल मात्र जित्न सकेको थियो ।मुम्बईले पछिल्लो पटक राजस्थानलाई सन् २०१५ को सिजनमा पराजित गरेको थियो ।

Click to comment

Trending