IPL

राहुलको अर्को उत्कृस्ट पारीमा चेन्नाईलाई १७९ रनको लक्ष्य

Published

on

उत्कृस्ट फर्ममा रहेका कप्तान केएल राहुलको अर्धशतकको मद्धतमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको दोश्रो खेलमा किंग्स ११ पन्जाबले चेन्नाई सुपर किंग्सलाई १७९ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७८ रन बनायो ।

पन्जाबको लागि ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाए । १७ दशमलब दुई ओभरमा शार्दुल ठाकुरको शिकार भएका उनले ५२ बलको सामना गर्दै सात चौका र एक छक्का प्रहार गरे । जारी सिजनमा राहुलको यो दोश्रो अर्धशतक हो । उनले यस अघि राजस्थान रोयल्स विरुद्ध अर्धशतक र रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध अविजित शतक पनि प्रहार गरेका थिए ।

राहुल बाहेक पन्जाबका निकोलस पुरणले १७ बलमा ३३ रन, मन्दिप सिंहले १६ बलमा २७ रन र मायंक अगरवालले १९ बलमा २६ रन बनाएर आउट भए भने अविजित रहेका सर्फराज खान र ग्लेन म्याक्सवेलले क्रमश नौं बलमा १४ रन र सात बलमा ११ को पारी खेले ।

चेन्नाईका शार्दुल ठाकुरले सर्वाधिक दुई विकेट हात पारे भने रविन्द्र जडेजा र पियुष चावलाले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गर्न सफल भए ।

आजको खेलमा पन्जाबले तीन परिवर्तन गरेको छ भने चेन्नाईले कुनै पनि परिवर्तन गरेको छैन । मन्दिप सिंह, हरप्रित ब्रार र क्रिस जोर्डनले आजको खेलमा सुरुवाती ११ मा स्थान बनाएका छन् भने करुण नायर, के गौथम र जिमी नीशम टोली बाहिर रहेका छन् ।

अंक तालिकामा चेन्नाई र पन्जाब तलबाट पहिलो र दोश्रो स्थानमा रहेका छन् । दुबै टोलीले आफुले खेलेका चार खेलमा तीनमा हारको सामना गर्दा एक खेलमा मात्र जित हात पार्न सकेका छन् ।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पार्यो । तर त्यस पछिका दुई खेलमा राजस्थान रोयल्ससँग चार विकेटले र मुम्बई इन्डियन्ससँग ४८ रनले पराजित हुन पुग्यो ।

गत बर्षको उपविजेता टोली चेन्नाईले यस सिजनको उद्घाटन खेलमा नै साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो ।तर त्यस पछिका तीन खेलमा चेन्नाई राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो ।

आईपीएलमा यि दुई टोली २१ पटक भिड्दा चेन्नाई १२ तथा पन्जाब नौं खेलमा विजयी भएका छन् ।

Click to comment

Trending