IPL

गर्गको आईपीएलमा पहिलो अर्धशतक, चेन्नाईलाई मध्यम लक्ष्य

Published

on

युवा खेलाडी प्रियमले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो अर्धशतक प्रहार गरे पछि खराब सुरुवातका बाबजुद सनराईजर्स हैदराबादले चेन्नाई सुपर किंग्सलाई १६५ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशाला टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६४ रन बनाउ सक्यो ।

ओपनर जोनी बेरिस्टो पहिलो ओभरको चौथों बलमा नै खाता नखोली दिपक चाहारको बलमा बोल्ड हुँदा खराब सुरुवात गरेको हैदराबादको लागि कप्तान डेभिड वार्नर र मनिष पाण्डेले दोस्रो विकेटका लागि ४६ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । तर २१ बलमा पाँच चौका सहित २९ रन बनाएका पाण्डे शार्दुल ठाकुरको शिकार हुन पुगे ।

२९ बलमा २८ रन बनाएका कप्तान वार्नर (पियुष चावलाको बलमा आउट) र १३ बलमा नौं रन बनाएका केन विलियमसन (रन आउट) लगातार दुई बलमा आउट हुँदा हैदराबाद १० दशमलब छ ओभरमा चार विकेटको नोक्सानीमा ६९ रनको स्थितीमा खुम्चिन पुग्यो ।

एक समय सानो योगफलमा समेटिने देखिएको हैदराबादको तर्फबाट प्रियम गर्ग र अविषेक शर्माले पाँचौं विकेटका लागि ४३ बलमा ७७ रन जोडे पछि सम्मानजनक योगफल बनाउन सफल भयो । शर्मा २४ बल खेल्दै चार चौका र एक छक्काको मद्धतमा ३१ रन बनाउँदै चाहारको बलमा महेन्द्र सिंह धोनीको हातबाट क्याच आउट हुन पुगे ।

अविजित रहेका गर्गले २६ बल खेल्दै छ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ५१ रन बनाए ।

चेन्नाईका दिपक चाहारले सर्वाधिक दुई विकेट लिए भने शार्दुल ठाकुर र पियुष चावलाले पनि समान १-१ विकेट हात पारे ।

समान ३-३ खेल खेलेका हैदराबादले र चेन्नाई एक खेलमा जित तथा दुईमा हार ब्यहोर्दै समान २-२ अंकका साथ अंक तालिकाको क्रमश सातौं र आठौं स्थानमा रहेका छन् । समान अंक रहे पनि हैदराबाद राम्रो नेट रन रेटका आधारमा सातौं स्थानमा छ ।

पहिलो खेलमा नै साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको चेन्नाईले त्यस पछि खेलेका दुबै खेलमा पराजय भोगेको थियो । चेन्नाई दोश्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले तथा तेश्रो खेलमा दिल्ली क्यापिटल्ससँग ४४ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।

हैदराबादले भने प्रतियोगितामा राम्रो सुरुवात गर्न सकेन । सुरुका लगातर दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राईडर्ससँग क्रमश १० रन र सात विकेटले पराजित भएको हैदराबादले तेश्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो ।

चेन्नाई र हैदराबादले एक आपसमा कुल १३ खेल खेलेका छन् जसमा चेन्नाईले १० खेलमा जित निकाल्दा हैदराबादले तीन खेलमा मात्र जित हात पार्न सकेको थियो । उनीहरुले १२ खेल आईपीएलमा र एक खेल च्याम्पियन्स लिग टि-ट्वान्टीमा भिडेका थिए ।

पछिल्लो पाँच खेलमा चेन्नाईले चार खेलमा र हैदराबादले एक खेल जितेका थिए । चेन्नाईले सन् २०१८ को आईपीएलमा हैदराबादलाई आठ विकेटले पाखा लगाउँदै तेश्रो पटक उपाधि चुमेको थियो ।

Click to comment

Trending