IPL

पन्जाबलाई फराकिलो अन्तरले पराजित गर्दै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथों खेलमा किंग्स ११ पन्जाब माथि ४८ रनको फराकिलो अन्तरको जित हात पार्दै साबिक विजेता मुम्बई इन्डियन्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । चौथों खेलमा मुम्बईको यो दोश्रो जित हो भने चार खेल नै खेलेको पन्जाबको यो तेश्रो हार हो ।

चार खेल खेलेको मुम्बई दुई जित र दुई हारका साथ चार अंक सहित अंक तालिकाको शिर्ष स्थानमा पुगेको हो । अन्य चार टोलीको पनि समान ४-४ अंक नै रहे पनि मुम्बई नेट रन रेटका आधारमा पहिलो स्थानमा पुग्न सफल भएको हो ।

जितका लागि मुम्बईले दिएको १९२ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४३ रन मात्र बनाउन सक्यो ।

पन्जाबलाई रोक्ने क्रममा जस्प्रित बुम्र, राहुल चाहार र जेम्स प्याटिनसनले समान दुई दुई विकेट लिए ।समान ४-४ ओभर बलिङ गरेका उनीहरुले क्रमश १८ रन, २६ रन र २८ रन खर्चिए ।

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको पन्जाबको तर्फबाट निकोलस पुरणले २७ बलमा सर्वाधिक ४४ रन बनाए भने कप्तान केएल राहुल १७, मायंक अगरवाल ३५, करुण नायर शुन्य, ग्लेन म्याक्सवेल ११ रनमा आउट भए । आठौँ नम्बरमा ब्याटिंङ गर्न आएका कृष्णप्पा गौथम २२ रनमा अविजित रहे ।

यस अघि शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका कप्तान रोहित शर्माले अर्धशतक तथा काइरन पोलार्ड र हार्दिक पान्ड्यले पारीको अन्त्यमा तुफानी पारी खेले पछि पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९१ रन बनायो ।

खराब सुरुवात गरेको मुम्बईले पाँच बल खेल्दै रनको खाता पनि खोल्न नभ्याएका ओपनर क्विन्टन डि ककलाई पहिलो ओभरमा नै गुमायो । तेश्रो नम्बर ब्याटिङ गर्न आएका सुर्य कुमार यादव पनि १० रन बनाएर रन आउट हुन पुगे ।

ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान रोहित शर्माले तेश्रो विकेटका लागि इशान किशानसँग ६२ रनको साझेदारी गर्दै मुम्बईको पारी सम्हाल्ने प्रयास गरे । तर अघिल्लो खेलमा ९९ रन बनाएका किशान ३२ बलमा २८ रन बनाएर आउट भए पछि मुम्बई १३ दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा ८३ रनको अवस्थामा पुग्यो ।

सुरुमा केहि सुस्त खेलेका रोहितले किशानको विकेटको पतनसँगै आक्रमक रुपमा खेल्न सुरु गरे । ४० बलमा आफ्नो अर्धशतक पुरा गरेका उनले मोहम्मद शामीको बलमा आउट हुनु अघि ४५ बल खेल्दै आठ चौका र तीन छक्काको मद्धतमा ७० रन प्रहार गरे ।

रोहित आउट भए पनि काइरन पोलार्ड र हार्दिक पान्ड्याले अन्तिम तीन दशमलब पाँच ओभरमा अविजित ६७ रन जोड्दै मुम्बईलाई १९१ को विशाल स्कोर सम्म पुर्याय । अविजित रहेका पोल्लार्ड र पान्ड्याले क्रमश २० बलमा तीन चौका र चार छक्काको मद्धतमा ४७ रन तथा ११ बलमा तीन चौका र दुई छक्काको मद्धतमा ३० रन बनाए ।

गत संस्करणको विजेता मुम्बईले यस संस्करणको उद्घाटन खेलमा गत वर्षको उपविजेता चेन्नाई सुपर किंग्ससँग पाँच विकेटको हारका साथ प्रतियोगितामा खराब सुरुवात गर्यो । दोश्रो खेलमा कोलकातालाई ४९ रनले पराजित गरेको मुम्बई अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुग्यो ।

पन्जाबले प्रतियोगितामा खराब सुरुवात गर्ने क्रममा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित हुँदै महत्वपुर्ण दुई अंक गुमायो । दोश्रो खेलमा उत्कृस्ट पुनरागमन गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फरालिको अन्तरले पराजित गरे पनि फेरी आफ्नो तेश्रो खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भयो ।

Click to comment

Trending