IPL

पोलार्ड र पान्ड्यले अन्तिम २३ बलमा ६७ रन जोडे पछि पन्जाबलाई १९२ रनको विशाल लक्ष्य 

Published

on

कप्तान रोहित शर्माले अर्धशतक तथा काइरन पोलार्ड र हार्दिक पान्ड्यले पारीको अन्त्यमा तुफानी पारी खेले पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को साबिक विजेता मुम्बई इन्डियन्सले आफ्नो तेश्रो खेलमा किंग्स ११ पन्जाबलाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।

शेख जायद अन्तरास्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९१ रन बनायो ।

खराब सुरुवात गरेको मुम्बईले पाँच बल खेल्दै रनको खाता पनि खोल्न नभ्याएका ओपनर क्विन्टन डि ककलाई पहिलो ओभरमा नै गुमायो । तेश्रो नम्बर ब्याटिङ गर्न आएका सुर्य कुमार यादव पनि १० रन बनाएर रन आउट हुन पुगे ।

ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान रोहित शर्माले तेश्रो विकेटका लागि इशान किशानसँग ६२ रनको साझेदारी गर्दै मुम्बईको पारी सम्हाल्ने प्रयास गरे । तर अघिल्लो खेलमा ९९ रन बनाएका किशान ३२ बलमा २८ रन बनाएर आउट भए पछि मुम्बई १३ दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा ८३ रनको अवस्थामा पुग्यो ।

सुरुमा केहि सुस्त खेलेका रोहितले किशानको विकेटको पतनसँगै आक्रमक रुपमा खेल्न सुरु गरे । ४० बलमा आफ्नो अर्धशतक पुरा गरेका उनले मोहम्मद शामीको बलमा आउट हुनु अघि ४५ बल खेल्दै आठ चौका र तीन छक्काको मद्धतमा ७० रन प्रहार गरे ।

रोहित आउट भए पनि काइरन पोलार्ड र हार्दिक पान्ड्याले अन्तिम तीन दशमलब पाँच ओभरमा अविजित ६७ रन जोड्दै मुम्बईलाई १९१ को विशाल स्कोर सम्म पुर्याय । अविजित रहेका पोल्लार्ड र पान्ड्याले क्रमश २० बलमा तीन चौका र चार छक्काको मद्धतमा ४७ रन तथा ११ बलमा तीन चौका र दुई छक्काको मद्धतमा ३० रन बनाए ।

आजको खेलमा मुम्बईले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन भने पन्जाबले एक परिवर्तन गरेको छ । पन्जाबले आजको खेलमा पनि मुजिब उर रहमान र क्रिस गेललाई आफ्नो सुरुवाती ११ मा समावेस गरेन ।

यस अघि समान ३-३ खेल खेलेका पन्जाब र मुम्बई समान २-२ अंकका साथ अंक तालिकाको क्रमश पाँचौं र छैठौं स्थानमा रहेका छन् । समान १-१ खेलमा जित र २-२ खेलमा हार व्यहोरेका पन्जाब र मुम्बई नेट रन रेटका आधारमा पाँचौं र छैठौं स्थानमा रहेका हुन् ।

गत संस्करणको विजेता मुम्बईले यस संस्करणको उद्घाटन खेलमा गत वर्षको उपविजेता चेन्नाई सुपर किंग्ससँग पाँच विकेटको हारका साथ प्रतियोगितामा खराब सुरुवात गर्यो । दोश्रो खेलमा कोलकातालाई ४९ रनले पराजित गरेको मुम्बई अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुग्यो ।

पन्जाबले प्रतियोगितामा खराब सुरुवात गर्ने क्रममा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित हुँदै महत्वपुर्ण दुई अंक गुमायो । दोश्रो खेलमा उत्कृस्ट पुनरागमन गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फरालिको अन्तरले पराजित गरे पनि फेरी आफ्नो तेश्रो खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भयो ।

मुम्बई र पन्जाबले हाल सम्म एक अपससँग २४ खेल खेलेका छन् जसमा मुम्बई १३-११ खेलले जित हारमा अघि रहेको छ । पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने पनि मुम्बईले पन्जाबलाई तीन पटक पराजित गर्दा पन्जाब दुई खेलमा मुम्बईलाई हराउन सफल भएको छ ।

Click to comment

Trending