Headline

डर्टमण्डको पुनरागमनलाई पछि पार्दै बायर्नले जित्यो जर्मन सुपर कप

Published

on

बोरुसिया डर्टमण्डको पुनरागमनलाई पछाडी पार्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । जोसुवा किमिचले ८२ औं मिनेटमा गोल गरेपछि बायर्नले ३–२ ले घरेलु सिजनको पहिलो उपाधि हात पारेको हो ।

खेलमा २–० ले पछि परेपनि डर्टमण्डले बराबरी गर्न सफल भएको थियो तर किमिचको गोल र दुवै टोलीको गोलकिपरको फरक प्रदर्शनले खेलको निर्णयमा फरक पारेको थियो । बायर्न गोलकिपर मानुएल नोयरले वान–भर्सेस–वान रहेको स्थितिमा एर्लिङ्ग हालान्डको प्रहारलाई उत्कृष्ट ढँगले बचाउ गरेका थिए । त्यसपछि किमिचको प्रहारलाई दोश्रो रोजाइका डर्टमण्ड किपर मार्विन हिट्जले छेक्दा रिबाउण्डमा किमिचले नै गोल गरिदिएका थिए ।

होफेन्हाइमले आइतबार बायर्नको ३४ खेलको अपराजित यात्रामा पूर्णबिराम लगाउदै बुन्डेसलिगामा ४–१ को फराकिलो जित हात पारेपछि बायर्नले केही राहतको सास फेरेको हो । बायर्नले डर्टमण्डलाई भने लगातार तीन खेलमा पराजित गरेको छ ।

ह्यान्सि फ्लिक प्रशिक्षक नियुक्त भए यता बायर्नले पाँच वटा उपाधिको लागि खेलेको छ र सबैमा जित हात पार्न सफल भएको छ । ६ दिन अघि मात्रै च्याम्पियन्स लिग बिजेता बायर्नले युएफा सुपर कपमा युरोपा कप च्याम्पियन सेभियामाथि २–१ को जित हात पार्दै सिजनको पहिलो ट्रफि जितेको थियो ।

बुधबारको खेलमा कोरेन्टिन टोलिसोले १८ औं मिनेटमै बायर्नलाई अग्रता दिलाएका थिए भने थोमस मुलरले ३२ औं मिनेटमा दोश्रो गोल गरे । ७ मिनेटपछि नै जुलियन ब्राण्ड्टले बायर्नको अग्रता घटाएका थिए भने ५५ औं मिनेटमा हालन्डले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए ।

Click to comment

Trending