IPL

हैदराबादले पहिलो जित निकाल्दा दिल्लीको पहिलो हार

Published

on

रशिद खानले घातक बलिङ गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो तेश्रो खेलमा सनराईजर्स हैदराबादले यस सिजनको पहिलो जित दर्ता गराएको छ । आफ्नो तेश्रो खेलमा पहिलो हारको सामना गरेको दिल्ली दिल्ली क्यापिटल्स १५ रनले पराजित हुन पुग्यो ।

यस अघि दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा तथा दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । हैदराबाद भने रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले तथा कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।

१६३ रनको लक्ष्य लिएर ब्याटिङमा गर्न आएको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र १४७ रन बनाउन सक्यो ।

खराब सुरुवात गरेको दिल्लीले पहिलो ओभरमा नै अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका ओपनर पृथ्वी श (पाँच बलमा दुई रन) लाई गुमायो । अर्का ओपनर शिखर धवन र श्रेयस ऐयरले दोश्रो विकेटका लागि ४० रन जोड्दै दिल्लीको पारी सम्हाल्ने प्रयास गरे । तर उनीहरु दुबै रशिद खानको शिकार भए । ऐयरले २१ बलमा १७ रन बनाए भने धवनले ३१ बलमा ३४ रनको पारी खेले ।

विकेट किपर ब्याट्सम्यान रिशब पन्त २७ बलमा ३२ रन तथा शिम्रोन हेटमायर १२ बलमा २१ रन बनाएर आउट भए पछि दिल्ली १६ दशमलब चार ओभरमा पाँच विकेटको नोक्सानीमा ११७ रनको स्कोरमा खुम्चिन पुग्यो । मार्कस स्टोइनिसले पनि ११ रन भन्दा बढी जोड्न सकेनन् । कागिसो रवाडा १५ रनमा अविजित रहे ।

दिल्लीको पारी ध्वस्त पार्ने क्रममा रशिद खानले चार ओभर बलिङ गर्दै मात्र १४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने भुवनेश्वर कुमारले चार ओभरमा २५ रन खर्चिएर दुई विकेट हात पारे ।

यस अघि शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै चार विकेटको क्षतीमा १६२ रन बनाउन सक्यो ।

हैदराबादका ओपनरद्वय डेभिड वार्नर र जोनी बेरिस्टोले आफ्नो टोलीलाई राम्रो सुरुवात दिए ।उनीहरुले पहिलो विकेटका लागि नौं दशमलब तीन ओभरमा ७७ रन जोडे । ३३ बलमा तीन चौका र दुई छक्काको मद्धतमा ४५ रन जोडेका कप्तान डेभिड वार्नर ४५ रन बनाएर अमित मिश्राको शिकार भए । त्यस पछि आएका मनिष पाण्डे पनि मात्र तीन रन बनाएर आउट भए ।

४८ बल खेल्दै दुई चौका र एक छक्का सहित ५३ रन बनाएका विकेट किपर ब्याट्सम्यान बेरिस्टो १७ दशमलब पाँच ओभरमा कागिसो रबाडाको बलमा आउट भए । चौथों नम्बरमा आएका उनले पेभेलियन फर्किनु अघि केन विलियमसनसँग मिलेर तेश्रो विकेटका लागि ५२ रन जोडे ।

यस सिजन हैदराबादको लागि पहिले खेल खेलेका विलियमसनले २६ बल खेल्दै पाँच चौकाको मद्धतमा ४१ रन बनाए भने आजको खेलमा डेब्यु गरेका अब्दुल सम्सादले पनि सात बलमा अविजित १३ रनको योगदान दिए ।

दिल्लीका कागिसो रबाडा र अमित मिश्राले समान २-२ बिकेट हात पारे । रबाडाले चार ओभरमा मात्र २१ रन खर्चिए भने मिश्राले चार ओभरमा नै ३५ रन खर्चिए ।

सन्दिप आज पनि सुरुवाती ११ पर्न असफल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले आजको खेलमा पनि बेञ्चमा नै राख्यो । यस अघिका दुबै खेलमा पनि सुरुवाती ११ मा स्थान दिएको थिएन । सन् २०१८ देखि दिल्लीमा आबद्ध भएका सन्दिपले अघिल्ला दुई सिजनमा पनि मात्र नौं खेलमा मात्र खेल्ने मौका पाएका थिए जसमा उनले १३ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए ।

सन् २०१८ मा आईपीएलमा आबद्ध भए पछि सन्दिपले बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग जस्ता बिभिन्न फ्रेनचाइज लिगहरुमा खेल्दै सुरुवाती ११ मा स्थान बनाएका थिए । तर पनि दिल्लीले सन् २०१९ को सिजनमा पनि सन्दिपलाई खासै मौका दिएको थिएन ।

यस सिजनको अगाडी सन्दिपले क्यारेबियन प्रिमियर लिगमा उत्कृस्ट बलिङ प्रदर्शन गरेका थिए । लिग चरणमा आफुले खेलेका सबै खेलमा विकेट निकालेका सन्दिप सेमीफाइनलमा भने विकेट बिहिन रहेका थिए । समूह चरणमा सन्दिपले १० खेल खेल्दै नौं पारीमा १२ विकेट हात पारेका थिए ।

Click to comment

Trending