IPL

राम्रो सुरुवातका बाबजुद हैदराबादको मध्यम योगफल 

Published

on

ओपनरद्वय डेभिड वार्नर र जोनी बेरिस्टोले राम्रो सुरुवात दिए पनि इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो तेश्रो खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १६३ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै चार विकेटको क्षतीमा १६२ रन बनाउन सक्यो ।

हैदराबादका ओपनरद्वय डेभिड वार्नर र जोनी बेरिस्टोले आफ्नो टोलीलाई राम्रो सुरुवात दिए ।उनीहरुले पहिलो विकेटका लागि नौं दशमलब तीन ओभरमा ७७ रन जोडे । ३३ बलमा तीन चौका र दुई छक्काको मद्धतमा ४५ रन जोडेका कप्तान डेभिड वार्नर ४५ रन बनाएर अमित मिश्राको शिकार भए । त्यस पछि आएका मनिष पाण्डे पनि मात्र तीन रन बनाएर आउट भए ।

४८ बल खेल्दै दुई चौका र एक छक्का सहित ५३ रन बनाएका विकेट किपर ब्याट्सम्यान बेरिस्टो १७ दशमलब पाँच ओभरमा कागिसो रबाडाको बलमा आउट भए । चौथों नम्बरमा आएका उनले पेभेलियन फर्किनु अघि केन विलियमसनसँग मिलेर तेश्रो विकेटका लागि ५२ रन जोडे ।

यस सिजन हैदराबादको लागि पहिले खेल खेलेका विलियमसनले २६ बल खेल्दै पाँच चौकाको मद्धतमा ४१ रन बनाए भने आजको खेलमा डेब्यु गरेका अब्दुल सम्सादले पनि सात बलमा अविजित १३ रनको योगदान दिए ।

दिल्लीका कागिसो रबाडा र अमित मिश्राले समान २-२ बिकेट हात पारे । रबाडाले चार ओभरमा मात्र २१ रन खर्चिए भने मिश्राले चार ओभरमा नै ३५ रन खर्चिए ।

दुई खेल खेलेको दिल्लीले दुबैमा जित दर्ता गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने दुबै खेलमा पराजित हैदराबाद अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ ।

दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पन्जाबलाई सुपर ओभरमा तथा दोश्रो खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । हैदराबाद भने रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले तथा कोलकाता नाइट राईडर्ससँग सात विकेटले पराजित भएको थियो ।

आईपीएलमा दिल्ली र हैदराबाद हाल सम्म १५ पटक आमुन्ने सामुन्ने हुंदा हैदराबादले नौं खेलमा जित दर्ता गराएको छ भने दिल्लीले मात्र छ खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । पछिल्लो सिजन खेलेका दुबै खेलमा भने दिल्लीले हैदराबादलाई दुई विकेट र ३९ रनले पराजित गरेको थियो ।

सन्दिप आज पनि सुरुवाती ११ पर्न असफल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले आजको खेलमा पनि बेञ्चमा राखेको छ ।

यस अघिका दुबै खेलमा पनि सुरुवाती ११ मा स्थान दिएको थिएन । सन् २०१८ देखि दिल्लीमा आबद्ध भएका सन्दिपले अघिल्ला दुई सिजनमा पनि मात्र नौं खेलमा मात्र खेल्ने मौका पाएका थिए जसमा उनले १३ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए ।

सन् २०१८ मा आईपीएलमा आबद्ध भए पछि सन्दिपले बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग जस्ता बिभिन्न फ्रेनचाइज लिगहरुमा खेल्दै सुरुवाती ११ मा स्थान बनाएका थिए । तर पनि दिल्लीले सन् २०१९ को सिजनमा पनि सन्दिपलाई खासै मौका दिएको थिएन ।

यस सिजनको अगाडी सन्दिपले क्यारेबियन प्रिमियर लिगमा उत्कृस्ट बलिङ प्रदर्शन गरेका थिए । लिग चरणमा आफुले खेलेका सबै खेलमा विकेट निकालेका सन्दिप सेमीफाइनलमा भने विकेट बिहिन रहेका थिए । समूह चरणमा सन्दिपले १० खेल खेल्दै नौं पारीमा १२ विकेट हात पारेका थिए ।

Click to comment

Trending