Headline

क्लब छोड्ने असफल प्रयासपछि मेस्सी पहिलो पटक ला लिगामा उत्रदै

Published

on

अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीको क्लब छोड्ने असफल प्रयासका दौरान उत्पन्न तनावको एक चरणको अध्यायपछि बार्सिलोना स्पेनिस ला लिगामा आफ्नो अहिलेसम्म कै उत्कृष्ट खेलाडीसँगै पहिलो पटक मैदान उत्रदैछ ।

बार्सा आइतबार भिलारियालबिरुद्ध खेल्दैछ तर अहिले पनि क्लब व्यवस्थापन र मेस्सीबीचको तनाव शान्त भइसकेको छैन । मेस्सीले शुक्रबार मात्रै आफ्ना घनिष्ट साथी तथा पुर्व क्लबमेट लुइस सुवारेजलाई क्लब छोड्न बाध्य पारेको भन्दै व्यवस्थापनको तिखो आलोचना गरेका थिए ।

त्यसैले मेस्सीले यो सिजन बार्साका लागि कस्तो खेल्नेछन् भन्नेमा नै सबैको ध्यान केन्द्रित हुनेछ । च्याम्पियन्स लिगको क्वार्टर–फाइनलसम्म यात्रा गरेका कारण बार्सिलोना ढिलो गरेर लिगको आफ्नो पहिलो खेल खेल्न गइरहेको हो ।

मैदान भित्र र बाहिर बिर्सन लायक रहेको सिजनमा बार्सिलोनाले राम्रो प्रदर्शन गर्न सकेको थिएन । अघिल्लो सिजन अंक तालिकामा पाँच महिनाभन्दा धेरै समय शिर्ष स्थानमा रहेको बार्सिलोनाले अन्त्यमा गएर रियल म्याड्रिडलाई उपाधि सुम्पिन पुगेको थियो ।

च्याम्पियन्स लिगमा पनि बायर्न म्युनिखसँगको ८–२ को लज्जास्पद हार पछि बार्सिलोनाले प्रशिक्षक किके सेटियनलाई बर्खास्त गर्यो । उनको स्थानमा रोनाल्ड कोमन आए र उनले धेरै खेलाडीलाई बाहिरको ढोका देखाए । बार्साले खेल जितेपनि टोलीमा पुरानै उत्साह फर्काउन पनि कामनलाई निकै चुनौति हुनेछ ।

२००८ देखी भिलारियालसँग बार्सिलोनाले क्याम्प नोउमा एक खेल पनि हारेको छैन । बार्सिलोनाले पछिल्लो पटक ओसासुनासँग २–१ ले पराजित भए देखी क्याम्प नोउमा अरु टोलीसँग पराजित भएको छैन ।

बार्सिलोनालाई सुवारेज र मिडफिल्डर आर्टुरो भिडालको कमी महसुस हुनेछ भने नयाँ खेलाडी मिरलेम पियानिचले डेब्यु गर्ने सम्भावना धेरै रहेको छ ।

खेल नेपाली समय अनुसार राती १२ः४५ मा सुरु हुने छ ।

Click to comment

Trending