IPL

पाण्डेको अर्धशतकका बाबजुद कोलकातालाई १४३ रनको मध्यम लक्ष्य 

Published

on

मनिष पाण्डेको अर्धशतकको बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा सनराईजर्स हैदराबादले कोलकाता नाइट राईडर्सलाई १४३ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद रंगशाला, अबुधबीमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४२ रनको सानो योगफल बनाउन सक्यो ।

हैदराबादको तर्फबाट मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे ।

हैदराबादले आजको खेलमा पनि राम्रो सुरुवात गर्न सकेन । ओपनर जोनी बेरस्टोव पाँच रनमा आउट भए भने अर्का ओपनर डेभिड वार्नर पनि ३० बलमा ३६ रन बनाएर आउट भए । रिद्दीमन शाहा पनि ३१ बलमा ३० रन बनाएर रन आउट भए भने मोहम्मद नाबी ११ रनमा अविजित रहे ।

कोलकाताका प्याट कमिन्सले किफायती बलिङ गर्दै चार ओभरमा मात्र १९ रन खर्चिएर एक विकेट लिए भने आन्द्रे रसेल र वरुण चक्रवर्तीले पनि १-१ विकेट नै आफ्नो नाममा दर्ता गराए ।

समान १-१ खेल खेलेका हैदराबाद र कोलकाता अंक तालिकामा अंक बिहिन रहेका छन् । आफ्नो पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित भएको थियो भने कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हारको सामना गर्न पुगेको थियो । त्यसैले पनि आजको खेलमा दुबै टोली जित हात पार्दै पहिलो अंक जोड्ने आशामा रहने छन् ।
कोलकाता र हैदराबाद हाल सम्म आईपीएलमा १७ पटक एक आपसमा भिडेका छन् । १० खेलमा कोलकाताले जित हात पार्दा हैदरबादले जम्मा सात खेल आफ्नो पक्ष्यमा पार्न सकेको छ । पछिल्लो पाँच खेलमा हैदराबादले तीन र कोलकाताले दुई खेल जितेका छन् ।
आफुले खेलेका दुबै खेलमा जित दर्ता गरेको दिल्ली क्यापिटल्स चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

Click to comment

Trending