IPL

चेन्नाई माथि फराकिलो जित दर्ता गर्दै दिल्ली अंक तालिकाको शिर्ष स्थानमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा चेन्नाई सुपर किंग्स माथि ४४ रनको जित दर्ता गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

दुई खेलमा दिल्लीले दुबैमा जित हात पार्दै चार अंकका साथ अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको हो । चेन्नाईको भने तेश्रो खेलमा यो दोश्रो हार हो । पहिलो खेलमा मुम्बाई माथि पाँच विकेटको जित दर्ता गराएको चेन्नाई दोश्रो खेलमा राजस्थान रोयलसँग १६ रनको हारको सामना गरेको थियो ।

जितका लागि १७६ रनको विशाल लक्ष्य पक्ष्याएको चेन्नाईले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र १३१ रन बनाउन सक्यो ।

विशाल लक्ष्य लिएर ब्याटिङ गर्न आएको चेन्नाईले सुरुवात नै राम्रो गर्न सकेन । उसका ओपनरद्वय मुरली विजय र शेन वाटसन क्रमश १० र १४ रन बनाएर आउट भए भने रुतुराज गायकवाड पनि मात्र पाँच रनमा रन आउट भए । चेन्नाईका ब्याट्सम्यानहरुले कम रन मात्र बनाएनन् सुस्त पनि खेले ।

नौं दशमलब एक ओभरमा ४४ रनको अवस्थामा तीन विकेट गुमाएको चेन्नाईको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका फाफ डु प्लेसिस र केदार जाधवले चौथों विकेटका ५४ रन जोड्दै पारी सम्हाल्ने कोसिस गरे पनि उनीहरु क्रमश ३५ बलमा ४३ रन र २१ बलमा २६ रन बनाएर आउट भए ।

त्यस्तै कप्तान महेन्द्र सिंह धोनी १५ रनमा तथा रविन्द्र जडेजा १२ रनमा पारीको अन्तिम ओभरमा कागिसो रबाडाको शिकार भए ।

चेन्नाईलाई रोक्ने क्रममा रबाडाले सर्वाधिक तीन विकेट लिए भने एनरिच नोर्ट्जे पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । चार ओभरमा रबाडाले २६ रन तथा नोर्ट्जेले मात्र २१ रन खर्चिए । त्यस्तै किफायती बलिङ गरेका अक्सर पटेलले एक विकेट मात्र हात पारे पनि चार ओभरमा मात्र १८ रन खर्चिए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७५ रन बनायो ।

दिल्लीको लागि ओपनरद्वय पृथ्वी श र शिखर धवनले उत्कृस्ट सुरुवात दिए । उनीहरुले पहिलो विकेटका लागि १० दशमलब चार ओभरमा ९४ रन जोडे । पियुष चावलाको बलमा एलबीडब्लु आउट हुनु अघि उनले २७ बलमा तीन चौका र एक छक्काको मद्धतमा ३५ रन बनाए ।

४३ बल खेल्दै नौं चौका र एक छक्का प्रहार गर्दै ६४ रन बनाएका श पनि पियुष चावलाको नै शिकार भए । उनलाई महेन्द्र सिंह धोनीले स्टम्पिङ गरे । दिल्लीको पारीको दोश्रो बलमा नै निक लागेर विकेट किपर धोनीले क्याच समाते पनि चेन्नाईका कुनै खेलाडीले अपिल नगर्दा शले जीवन दान पाएका थिए । शले मात्र ३५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।

आजको खेलमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर ब्याट्सम्यान रिशब पन्त र कप्तान श्रेयस ऐयरले तेश्रो विकेटका लागि ५८ रन जोड्दै दिल्लीको पारी सम्हाले । २२ बलमा २६ रन बनाएका ऐयर साम कुर्रानको शिकार भए भने पन्त २५ बल खेल्दै ३७ रनमा अविजित रहे ।

चेन्नाईका पियुष चावलाले सर्वाधिक दुई विकेट हात पारे भने साम कुर्रानले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए । समान ४-४ ओभर बलिङ गरेका चावला र कुर्रानले क्रमश २७ र ३३ रन खर्चिए भने चार ओभर नै बलिङ गरेका रविन्द्र जडेजा खर्चिलो सावित हुँदै ४४ रन खर्चिए भने विकेट बिहिन रहे ।

आजको खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने बेन्चमा नै बस्ने भएका छन् । दिल्लीले आजको खेलम दुई परिवर्तन गर्दा पनि सन्दिपलाई स्थान दिएन । अमित मिश्रा र आभेश खानले सुरुवाती ११ मा स्थान पाएका छन् ।

हालै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा उत्कृस्ट प्रदर्शन गरेका सन्दिपले सुरुवाती ११ मा स्थान बनाउने छन् भन्नेमा धेरै जना आशावादी रहे पनि दिल्लीले पन्जाब विरुद्धको अघिल्लो खेलमा पनि सन्दिपलाई सुरुवाती ११ मा स्थान दिएको थिएन ।

Click to comment

Trending