IPL

दिल्लीले चेन्नाईलाई दियो १७६ रनको लक्ष्य

Published

on

पृथ्वी शको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई १७६ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७५ रन बनायो ।

दिल्लीको लागि ओपनरद्वय पृथ्वी श र शिखर धवनले उत्कृस्ट सुरुवात दिए । उनीहरुले पहिलो विकेटका लागि १० दशमलब चार ओभरमा ९४ रन जोडे । पियुष चावलाको बलमा एलबीडब्लु आउट हुनु अघि उनले २७ बलमा तीन चौका र एक छक्काको मद्धतमा ३५ रन बनाए ।

४३ बल खेल्दै नौं चौका र एक छक्का प्रहार गर्दै ६४ रन बनाएका श पनि पियुष चावलाको नै शिकार भए । उनलाई महेन्द्र सिंह धोनीले स्टम्पिङ गरे । दिल्लीको पारीको दोश्रो बलमा नै निक लागेर विकेट किपर धोनीले क्याच समाते पनि चेन्नाईका कुनै खेलाडीले अपिल नगर्दा शले जीवन दान पाएका थिए । शले मात्र ३५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।

आजको खेलमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर ब्याट्सम्यान रिशब पन्त र कप्तान श्रेयस ऐयरले तेश्रो विकेटका लागि ५८ रन जोड्दै दिल्लीको पारी सम्हाले । २२ बलमा २६ रन बनाएका ऐयर साम कुर्रानको शिकार भए भने पन्त २५ बल खेल्दै ३७ रनमा अविजित रहे ।

चेन्नाईका पियुष चावलाले सर्वाधिक दुई विकेट हात पारे भने साम कुर्रानले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए । समान ४-४ ओभर बलिङ गरेका चावला र कुर्रानले क्रमश २७ र ३३ रन खर्चिए भने चार ओभर नै बलिङ गरेका रविन्द्र जडेजा खर्चिलो सावित हुँदै ४४ रन खर्चिए भने विकेट बिहिन रहे ।

आजको खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने बेन्चमा नै बस्ने भएका छन् । दिल्लीले आजको खेलम दुई परिवर्तन गर्दा पनि सन्दिपलाई स्थान दिएन । अमित मिश्रा र आभेश खानले सुरुवाती ११ मा स्थान पाएका छन् ।

हालै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा उत्कृस्ट प्रदर्शन गरेका सन्दिपले सुरुवाती ११ मा स्थान बनाउने छन् भन्नेमा धेरै जना आशावादी रहे पनि दिल्लीले पन्जाब विरुद्धको अघिल्लो खेलमा पनि सन्दिपलाई सुरुवाती ११ मा स्थान दिएको थिएन ।

यस सिजन चेन्नाईको आजको खेल तेश्रो हुनेछ भने दिल्ली आफ्नो दोश्रो खेल खेल्न लागेको हो । चेन्नाईले प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो भने राजस्थानसँग १६ रनको हारको सामना गरेको थियो । दिल्लीले भने सुपर ओभरमा किंग्स ११ पन्जाबलाई पराजित गर्दै दुई अंक बटुल्न सफल भएको थियो ।

हाल सम्म यि दुई टोली आईपीएलमा २१ पटक भिडेका छन् । जसमा चेन्नाईले १५ वटा खेल जितेको छ भने दिल्लीको नाममा छ जित मात्र रहेको छ । गत बर्षको संस्करणमा तीन पटक भिड्दा तीन खेल नै दिल्ली पराजित हुन पुगेको थियो । क्वालिफायर्समा दिल्लीलाई छ विकेटले पराजित गर्दै फाइनलमा पुगेको चेन्नाई मुम्बईसँग एक रनले पराजित हुँदै उपाधि चुम्नबाट बन्चित भएको थियो ।

Click to comment

Trending