Headline

अघिल्लो सिजन मेस्सीले आफ्नो नाममा लेखाएका १० किर्तिमान

Published

on

बार्सिलोनासँगको लामो कसरतका बावजुद बार्सिलोनामै बस्ने भएपछि लियोनल मेस्सी त्यो अध्यायपछि आइतबार स्पेनिस ला लिगाको सिजनको आफ्नो पहिलो खेलमा भिलारियाल बिरुद्ध उत्रदैछन् । च्याम्पियन्स लिगको सहभागिताका कारण ढिलो सिजन शुरु गर्न गइरहेको बार्सिलोना यो सिजन रियल म्याड्रिडबाट स्पेनिस ला लिगा फिर्ता लिन चाहन्छ ।

तर सबैको नजर नचाहदा नचाहदै पनि बार्सिलोनामै बस्न बाध्य मेस्सी क्लबका लागि यो सिजन कस्तो खेल्नेछन् भन्नेमा हुनेछ । अघिल्लो सिजन उपाधि बिहिन रहेपनि मेस्सीले क्लबका लागि भने थुप्रै किर्तिमान बनाएका थिए । के–के थिए त ती किर्तिमानहरुः

१. ला लिगामा लगातार १६ सिजन गोल गर्ने पहिलो खेलाडी

मेस्सीले २०१९–२० को सिजनको शुरुवाती चरणका खेलहरु पिड़ुलाको चोटका कारण गुमाउन बाध्य भए । उनको अनुपस्थितीमा बार्साले ठुलै संघर्ष गर्न पर्यो । उक्त सिजन सेभिया विरुद्धको खेलमा पहिलो पटक खेलेका मेस्सीले फ्रि–किक मार्फत उत्कृष्ट गोल गरे । आफ्नो टोलीलाई ४–० को जित दिलाउन मद्धत गरेका उनले ला लिगाको लगातार १६औं सिजनमा गोल गर्ने किर्तिमान आफ्नो नाममा लेखाए ।

२. लगातार च्याम्पियन्स लिगको १५ सिजनमा गोल गर्ने पहिलो खेलाडी

च्याम्पियन्स लिगको समुह चरणमा डर्टमन्ड र इन्टर मिलान विरुद्ध गोल गर्न नसकेका मेस्सीले स्लाभिया प्राग विरुद्ध गोल गर्दै बार्सालाई २–१ को जित दिलाए । उक्त खेलमा गोल गर्दै उनले च्याम्पियन्स लिगको लगातार १५ खेलमा गोल गर्ने किर्तिमान आफ्नो नाममा लेखाए ।

त्यस्तै उनले रियल म्याड्रिड लेजेण्ड राउल गोञ्जालेज र क्रिष्चियानो रोनाल्डोले धेरै टोली विरुद्ध (३३ टोली) गोल गर्ने किर्तिमानको पनि बराबरी गरे ।

३. फ्रि–किक मार्फत ५० औं गोल

ला लिगा अन्तर्गत रियल भालाडोलिड विरुद्धको खेलमा मेस्सीले फ्रि–किक मार्फत आफ्नो गोल संख्या ५० पुर्याए । तर पनि फ्रि–किक मार्फत सर्वाधिक गोल गर्ने किर्तिमानबाट भने उनी अझै पनि धेरै टाढा छन् । फ्रि–किक मार्फत सर्वाधिक गोल गर्ने किर्तिमान जुनिन्हो पेर्नामबुकानोको नाममा रहेको छ ।

पेर्नामबुकानोले फ्रि–किक मार्फत ७७ गोल गरेका थिए भने उक्त किर्तिमान भंग गर्न मेस्सीलाई अझै २८ गोल आवश्यक रहेको छ ।

४. च्याम्पियन्स लिगमा भिन्न ३४ टोलीविरुद्ध गोल गर्ने पहिलो खेलाडी

गत सिजनको च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको पाँचौं खेलमा बार्सिलोनाले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डको दोश्रो लेगमा सामना गर्यो । नोभेम्बरको अन्त्यमा भएको खेलको ३३ औं मिनेटमा मेस्सीले गोल गर्दै ३४ भिन्न टोलीका लागि गोल गर्ने पहिलो खेलाडीको किर्तिमान कायम गरे ।

यस क्रममा उनले राउल र रोनाल्डोको नाममा रहेको ३३–३३ गोलको किर्तिमान भंग गरेका हुन् । त्यस्तै उक्त गोलसँगै मेस्सीले बार्साको लागि आफ्नो गोल संख्य ७०० पनि पुर्याएका थिए ।

५. ६ वटा बालोन डी’ओर जित्ने पहिलो खेलाडी

डिसेम्बर ३ मा मेस्सीले बालोन डी’ओर जिते । यस अघि रोनाल्डोसँग समान ५–५ पटक बालोन डी’ओर जितेका मेस्सीले सन् २०१९ मा बालोन डी’ओर जित्दै छैटौं पटक बिश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार जित्ने किर्तिमान कायम गरे ।

पहिलो पटक सन् २००९ मा बालोन डी’ओर जितेका मेस्सीले त्यस पछिका लगातार तीन बर्षमा र २०१५ मा बालन डी’ओर हात पारेका थिए ।

६. ला लिगामा ३५ वटा ह्याट्रिक गर्ने पहिलो खेलाडी

गत बर्ष छैटौं पटक बालोन डी’ओर जितेका मेस्सीले त्यसको भोलीपल्ट मायोर्का विरुद्धको खेलमा ह्याट्रिक गर्दै बार्सालाई ५–२ गोलको जित दिलाउन मद्धत गरे र ला लिगामा आफ्नो ३५ औं ह्याट्रिक पुरा गरे । यससँगै ३२ बर्षिय मेस्सीले रोनाल्डोसँग ला लिगामा बराबरीमा रहेको सर्वाधिक ह्याट्रिकको किर्तिमानलाई पछि पार्दै नयाँ रेकर्ड राखे ।

७. ला लिगाको लगातार १२ सिजन २० भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी

कोरोनाका कारण रोकिएको ला लिगा फेरी सुचारु हुँदा मेस्सीले मायोर्का विरुद्धको खेलको इन्जुरी समयमा गोल गर्दै २०१९–२० को सिजनमा आफ्नो गोल संख्या २० पुर्याए । यससँगै मेस्सी ला लिगामा लगातार १२ सिजन २० वा त्यो भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी पनि बने । गत सिजन मेस्सीले कुल २५ गोल गरे ।

८. २० गोल र २० असिस्ट गर्ने दोश्रो खेलाडी

रियल भालाडोलिड विरुद्धको खेलमा बार्साले १–० गोल अन्तरले मात्र जित हात पार्न सक्यो । तर पनि उक्त खेलम मेस्सीले फेरी अर्को एउटा किर्तिमान आफ्नो नाममा लेखाउन सफल रहे ।

मेस्सीको पासमा आर्टुरो भिडालले गोल गर्दै बार्सालाई जित दिलाएका थिए । यससँगै मेस्सी आर्सनलका थियरी हेनरी पछि एकै सिजन २० गोल र २० असिस्ट गर्ने दोश्रो खेलाडी भने । त्यस्तै उनले बार्सिलोनाको लागि जाभी हर्नान्डेजको नाममा रहेको २० असिस्टको किर्तिमानको पनि बराबरी गरे ।

९. ला लिगाको एकै सिजन २१ असिस्ट गर्ने पहिलो खेलाडी

सन् २०१९–२० को सिजनको अन्तिम खेलमा अन्सु फातीले मेस्सीको पासमा गोल गरे । उक्त असिस्ट पछि मेस्सीले जाभी हर्नान्डेजसँग बराबरी गरेको किर्तिमान आफ्नो नाममा लेखाए । रियल भालाडोलिड विरुद्धको खेलमा असिस्ट गर्दै हर्नान्डेजले सन् २००८–०९ को सिजनमा बनाएको २० असिस्टको किर्तिमान बराबरी गरेका मेस्सीले अलाभेस विरुद्धको खेलमा असिस्ट संख्या २१ पुर्याएका थिए ।

१०. ला लिगामा सातौं पटक सर्वाधिक गोलकर्ताको उपाधि

अलाभेस विरुद्धको खेलमा २१ असिस्टको किर्तिमान बनाएका मेस्सीले सोही खेलमा अर्को किर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भए । बार्साको ५–० को जितमा उनले दोश्रो तथा पाँचौं गोल गरे र उक्त सिजन आफ्नो गोल संख्या २५ पुर्र्याए ।

उनले सातौं पटक ला लिगामा सर्वाधिक गोलकर्ताको उपाधि हात पारे । यस क्रममा उनले टेल्मो जाराको किर्तिमानलाई पछाडी छोडेका थिए ।

Click to comment

Trending