Headline

भावुक सुवारेजका लागि बार्सिलोनाबाट बहिर्गमन स्विकार्न गाह्रो

Published

on

६ बर्षअघि लुइस सुवारेज बार्सिलोनाको खेलाडीको रुपमा सार्वजनिक हुदा निकै भावुक भएका थिए । ६ बर्षपछि क्लबलाई उनको अब कुनै आवश्यकता नरहेको बताएपछि उनी अझै भावुक हुन पुगे ।

ला लिगा प्रतिद्वन्दी एट्लेटिको म्याड्रिड गएका उरुग्वे स्ट्राइकर बुधबार बार्सिलोनासँगको आफ्नो अन्तिम अभ्यासमा खेलाडी साथीहरुसँग बिदाई भइसकेपछि रुदै निस्किएको भिडियो बाहिर आएको थियो । बिहिबार क्लब छोड्नुु अघि गरिएको एक पत्रकार सम्मेलनमा निकै भावुक देखिएका सुवारेजले आफूलाई क्लब छोड्न भनिएपनि बार्सालाई लिएर सधै आभारी रहने बताए ।

“जब क्लबले तिम्रो कुनै आवश्यकता छैन भन्छ, खेलाडीले त्यसलाई स्विकार्नु पर्छ । तर यसले केही समय लिन्छ, गाह्रो हुन्छ । तिम्रो परिवार त्यसमा संलग्न हुन्छ र क्लबसँगको यात्रामा धेरै उतार चढाव देखिएको हुन्छ । आफू छोड्न गइरहेको स्विकार्न गाह्रो हुन्छ तर गर्नु पर्छ । यो यथार्थ हो र फुटबलमा यस्तै हुन्छ,” सुवारेजले भने ।

३३ बर्षिय सुवारेज आफ्नो टिम र क्लबसँग बिताएको समयको बिषयमा बोल्दा पटक पटक भक्कानिएका थिए । “यो मेरो लागि कठिन समय हो, मैले अपेक्षा नगरेको । मैले कुनै पनि तयारी गरेको थिइन । धेरै बर्षदेखि मैले साथीहरु बनाएको छु । यसले मलाई निकै ठूलो खुशी दिएको छ,” क्लबसँग इतिहास बनाएकोमा आफूलाई गर्व लागेको भन्दै सुवारेज सुनाउछन् ।

१ सय ९८ गोलसहित क्लब इतिहासको तेश्रो सर्वाधिक गोलकर्ता बनेका सुवारेज २०१४ मा इङ्गलिस क्लब लिभरपुलबाट बार्सिलोना आए यता चार स्पेनिस ला लिगा र २०१५ को च्याम्पियन्स लिगसहित १३ उपाधि जित्न सफल भएका थिए ।

२०१४ को बिश्वकपमा इटालियन जियोर्जियो चिलेनीलाई टोक्दा पनि आफूमाथि बिश्वास राखेकोमा सुवारेजले बार्सिलोनालाई धन्यवाद समेत दिएका थिए । सुवारेज त्यो कुख्यात टोकाईपछि लामो समयका लागि प्रतिबन्धमा परेपनि उनलाई बार्साले अनुबन्ध गरेको थियो ।

सुवारेजले बार्साका लागि चार स्पेनिस ला लिगा र २०१५ को च्याम्पियन्स लिगसँगै १३ उपाधि जितेका थिए

आफ्नो बहिर्गमनलाई जसरी सम्हालियो त्यसको लागि सुवारेजले बार्सा क्लब व्यवस्थापन, नयाँ प्रशिक्षक रोनाल्ड कोमन र बिवादित अध्यक्ष जोसेप बार्तोमेउ कसैको पनि आलोचना गरेका थिएनन् । तर मेस्सीको पक्षमा बोल्दै उनले भनेः “खेलाडीले छोड्छु भन्दा क्लबले स्विकार्न पर्छ ।”

उनको निकै घनिष्ट सम्बन्ध रहेका मेस्सीले क्लब छोड्नका लागि रिलिज पेपर माग्दा बार्सिलोनाले लामो समय त्यसलाई तन्काउदै अर्जेन्टाइन खेलाडीलाई बार्सामै राख्न सफल भएको थियो । मेस्सी र बार्साको खिचातानीले बिश्व फुटबलको ध्यान नै त्यतै मोडिएको थियो ।

स्थानीय मिडियाहरुमा आएको रिपोर्टबाट सुवारेजले आफूलाई बार्सिलोनाले राख्न नखोजेको संकेत प्राप्त भएको पनि उनले बताए । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरे लगत्तै किके सेटियनको स्थानमा आएक डच प्रशिक्षक कोमनले आफू आए लगत्तै सुवारेजलाई फोन गर्दै उनि आवश्यक नरहेको बताएका थिए ।

सुवारेज अब एट्लेटिकोमा अर्जेन्टाइन प्रशिक्षक डिएगो सिमिओनेको प्रशिक्षणमा खेल्नेछन् । “जब मलाई बार्सिलोनाले मेरो आवश्यकता नरहेको बतायो मलाई धेरै क्लबहरुको फोन आएको थियो । मलाई लाग्यो म अझै पनि रियल म्याड्रिड र बार्सिलोनासँग प्रतिस्पर्धा गर्न सक्ने क्लबका लागि खेल्न सक्षम छु । म धेरै उपलब्धि हात पार्न सक्ने एक प्रतिस्पर्धात्मक क्लबका लागि खेल्न गइरहेको छु,” उनले भने ।

Click to comment

Trending