Headline

किँग काजु जिन्दावादः ५३ बर्षको उमेरमा पनि दर्शक तानिरहेका जापानी लेजेण्डको नयाँ किर्तिमान

Published

on

जापानी घरेलु फुटबलको माथिल्लो श्रेणीमै लामो समयदेखि राज गर्र्द आइरहेका काजुयोसी मिउराले बिहिबार ५३ बर्षको उमेरमा नयाँ किर्तिमान कायम राख्दै वाह–वाही लुटेका छन् ।

‘किँग काजु’ नामले चर्चित मिउराले जापाको प्रथम श्रेणीको फुटबल जे–लिगमा बुधबार योकोहोमा एफसीका लागि कावासाकी फ्रन्टेलबिरुद्ध प्रतियोगिता इतिहासमा शुरुवाती ११ मा स्थान बनाउने सबैभन्दा पाका खेलाडीको रुपमा नयाँ किर्तिमान कायम गरेका थिए ।

“जापानी फुटबलको इतिहासमा किँग काजुले एक पटक फेरि नयाँ अध्याय लेखेका छन्,” निक्कन स्पोर्ट्स डेलिले बिजयी भावमा घोषणा गरेको छ । स्पोर्ट्स निप्पोनले एक बहादुरीपूर्ण प्रदर्शन ५३ बर्षियबाट आएको भन्ने तथ्य पत्याउनै गाह्रो मानेको लेखेको छ ।

“काजु हाम्रो धरोहर हुन् । इतिहासको पानामा अमर रहने यो महान किर्तिमान हाल सकृय रहेका सबै खेलाडीहरु र भविष्यका खेलाडी बन्ने सपना बोकेका बच्चाहरुको लागि चम्किालो प्रकाश हुनेछ । हामी आशा गछौं उनी अझै अभुतपुर्व रुपले खेलिरहनेछन्,” जे–लिगका अध्यक्ष मित्सुरु मुराइ भन्छन् ।

योकोहोमा एफसीका लागि बिगत १५ बर्षदेखि खेल्दै आइरहेका मिउरालाई ५६ औं मिनेटमा सब्स्टिच्युट गरिएको थियो । खेल योकोहोमाले ३–२ ले हार्न पुग्यो । मैदान छोड्दै गर्दा सबैले उठेर ताली बजाएपछि उत्साहित मिउरा आफ्नो प्रदर्शन देखि भने त्यति खुशी देखिएनन् ।

“मैले मिडफिल्डमा धेरै पटक बल पाए तर मैले पेनाल्टी एरियामा धेरै बल खेलाउन सकिन । मैले चाहेको कुरा पुरा हुन सकेन । आजको खेलको अनुभव म अब अन्य खेलहरुमा प्रयोग गर्नेछु,” मिउराले भने ।

केही समय देखि उमेरको किर्तिमान कायम राख्दै आएका मिउरा यो बर्षको शुरुवातमा जापान लिग कप प्रतियोगिता खेल्ने सबैभन्दा पाका खेलाडी बनेका थिए । २०१७ मा उनी व्यवसायिक फुटबलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनिसकेका थिए ।

६० बर्ष नपुग्दासम्म सन्यास नलिने दृढ संकल्प दिएका काजुको खेल हेर्न जापान मात्र नभएर बाहिर पनि टन्ने समर्थक पुग्ने गरेका छन् । उनको पछिल्लो किर्तिमानले फिफाको आधिकारिक ट्विटर अकाउन्टको ध्यान समेत आकर्षण गरेको थियो ।

श्रीपेच इमोजि प्रयोग गर्दै फिफाले आफ्नो ट्विटरमा लेखेको छः किँग काजु जिन्दावाद ।

Click to comment

Trending