Headline

कोमनले बार्सा रोजेपछि डि बोर नेदरल्याण्ड्सका नयाँ प्रशिक्षक

Published

on

रोनाल्ड कोमनको रोजाइमा बार्सिलोना परेपछि नेदरल्याण्ड्सले फ्रान्क डि बोरलाई राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

नेदरल्याण्ड्स फुटबल महासंघका अुनसार ५० बर्षिय डि बोरले २०२२ मा कतारमा हुने बिश्वकपसम्मका लागि सम्झौता गरेका छन् । डि बोर यसअघि अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब एट्लान्टा युनाइटेडका प्रशिक्षक रहेका थिए ।

दुई महिना अघि एमएलएस इज ब्याक प्रतियोगितामा उनको टोलीले तीन वटै खेल हारेपछि डि बोरले राजीनामा दिएका थिए । निकै नै सशक्त डिफेण्डरको रुपमा चिनिने गरिएका डि बोरले आफ्नो व्यवसायिक खेल जीवनमा डच क्लब आयाक्सका लागि १९९५ मा च्याम्पियन्स लिग जितेका थिए ।

दक्षिण अफ्रिकामा २०१० मा भएको बिश्वकपमा नेदरल्याण्ड्स बिश्वकप फाइनल पुग्दा डि बोर प्रशिक्षक बर्ट भान मार्विकको सहायक रहेका थिए । व्यवस्थापन करिअरमा उत्कृष्ट शुरुवात पाएका डि बोरले आयाक्सलाई २०११ देखि २०१४ सम्म लगातार चार पटक नेदरल्याण्ड्सको प्रथम श्रेणीको लिग एरेडेभिसी जिताएका थिए ।

तर त्यसयता भने उनले खासै उल्लेखनीय सफलता भने चाखेका छैनन् । २०१६ मा प्रशिक्षक नियुक्त भएको ८५ दिनमै इटालियन क्लब इन्टर मिलानले बर्खास्त गरेको थियो भने २०१७ मा क्रिष्टल प्यालेसले इङ्गलिस प्रिमियर लिग सिजनको आफ्नो पहिलो चार खेलमा एक गोल पनि नगर्दै पराजय बेहोरेपछि १० हप्तानै जागिर गुमाउन पुगेका थिए ।

डि बोरको नेदरल्याण्ड्सको लागि आफ्नो पहिलो खेल अक्टोबर ७ मा एम्स्टरड्याममा हुने मेक्सिको बिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण हुनेछ ।

Click to comment

Trending