Headline

सेन्ट्रल कन्ट्रयाक्टमा नेपाल क्रिकेट संघको मनपरी

Published

on

मङ्गलवारको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेको १३ बर्षपछि महिला क्रिकेटरहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा बाध्यो । यसले महिला क्रिकेटरहरुलाई खेलमा रहिरहन मद्दत पुर्याउने छ ।

महिला क्रिकेटरहरुलाई पहिलो पटक सेन्ट्रल कन्ट्रायक्ट दिएको क्यानले पुरुष क्रिकेटरहरुको तलबमा पनि १५ हजार बृद्धि गरेको थियो, जुन एक सकारात्मक कदम थियो ।
तर क्यानले तयार पारेको सुचिमा भने मनपरि भएको छ । महिला र पुरुष दुवै तर्फको ग्रेडिङ्गमा क्यानले अत्यन्तै असंवेदनशील तरिकाले खेलाडीको बर्गिकरण गरेको छ जसका कारण राम्रा खेलाडीहरुलाई पनि निरत्साहित गरेको छ ।

क्यानको खेलाडी बर्गिकरणको सुचि हेर्दा नेपाली क्रिकेटको मैदानको प्रगति र खेलाडीको प्रदर्शनलाई राम्ररी बुझ्नै नसकेको व्यक्तिले यसलाई तयार पारेको जस्तो देखिन्छ । २०२० का लागि क्यानले पारिश्रमिक निर्धारण र ग्रेड निर्धारण गर्नका लागि कोषाध्यक्ष रोशन कुमार सिँहको संयोजकत्वमा समिति निर्माण गरेको छ । उक्त समितिमा केन्द्रिय सदस्यद्वय दुर्गाराज पाठक र अमितविर पाण्डे सदस्य रहेका छन् ।

सोमपाल बि मा, ललित नै अयोग्य

सन् २०१९ को प्रदर्शनलाई आधार मान्ने हो भने सोमपाल कामीको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो । बर्षको उत्तराद्र्धमा ढाँडको समस्याबाट दुई वटा प्रतियोगिता गुमाएका सोमपाल ए श्रेणीमा रहनुपर्ने खेलाडी हुन् तर उनलाई बि मा झारिएको छ । नेपालले युएईमा ऐतिहासिक एकदिवसीय श्रंखला जित्दा सोमपालको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

सोमपालको स्थानमा भेटेरान स्पिनर बसन्त रेग्मी फर्किएका छन् । बसन्त आफै करिअर समाप्तिको संघारमा रहेका छन् । उनले २०१९ मा युएईबिरुद्धको श्रृंखलामा १–१ ट्वान्टी र एकदिवसीयपछि उनले खेलेका छैनन् ।

क्यानले नेपाली क्रिकेटमा बिगतमा दिएको योगदानको कदर गरेको हो भने यो सेन्ट्रल कन्ट्रयाक्ट नभएर लाइफटाइम अचिभमेन्ट अवार्ड जस्तो देखिन्छ । शायद त्यही भएर २०१९ मा नेपालका लागि एक खेल पनि नखेलेका सुभाष खकुरेललाई सि ग्रेडको कन्ट्रयाक्ट थमाइएको छ ।

सबैभन्दा अचम्म राष्ट्रिय टोलीका नियमित सदस्य ललित नारायण राजबंशीलाई भने कन्ट्रयाक्ट बिहिन बनाइएको छ । त्यस्तै नेपालको लागि एक खेल पनि नखेलेका कमल सिँह ऐरि र एक ट्वान्टी ट्वान्टी खेलेका रशिद खानलाई पनि सि ग्रेडको कन्ट्रयाक्ट दिइएको छ ।

क्यानले युवा खेलाडीलाई प्रोत्साहन गर्ने नै हो भने २०१९ मै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा अद्र्धशतक बनाउने कान्छा खेलाडी सन्दिप जोरा किन अटाएनन् ? ग्रेडिङ्ग सिस्टममा क्यानको मनपरी छताछुल्ल नै भएको छ ।

क्यानले ग्रेडिङ्ग सिस्टमको निर्धारण गर्नका लागि हालका कप्तान ज्ञानेन्द्र मल्लसँग छलफल नै नगरी गरेको हो । उचित ग्रेडिङ्ग दिनका लागि छनोटकर्ताको आवश्यक रहेपनि क्यानले अहिलेसम्म छनोट समिति बनाउन सकेको छैन । ज्ञानेन्द्र क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा सहि निर्णयहरु नभएको मान्छन् ।

हामीले अध्यक्ष (क्यान अध्यक्ष चतुर बहादुर चन्द) सँग यो बिषयमा कुरा उठाएका छौं । एकपटक पुन समिक्ष गर्न आग्रह गर्दा उनले यस बिषयमा प्रवेश गर्ने आश्वासन दिनुभएको छ, ज्ञानेन्द्रले क्रिकेटिङ्ग नेपाललाई भने ।

महिलामा झनै चर्को मनोमानी

मङ्गलवार महिला टोलीकी कप्तान रुबिना क्षेत्री आफूहरुलाई पनि सेन्ट्रल कन्ट्रयाक्ट दिने निर्णयको समाचार बाहिर आउदा निकै उत्साहित थिइन् तर सुचि आएपछि उनी अचम्ममा परिन् । “खेलाडीहरुलाई जुन हिसाबले ग्रेडिङ्ग गरिएको छ त्यो चित्त बुझ्दो छैन,” उनले भनिन् ।

क्यानले सार्वजनिक गरेको महिला बर्गिकरणको बि ग्रेडमा एक खेलाडी कविता जोशी रहेकी छिन् । तर उनले नेपालको लागि कुनै खेल खेलेकी छैनन् । कविता बि मा अटाउनु अचम्मको कुरा त थियो नै पछिल्लो केही समय यता उत्कृष्ट प्रदर्शन गर्दै आएकी ममता चौधरीलाई कन्ट्रयाक्ट बिहिन नै पारिएको छ ।

ए ग्रेडमा रहनुपर्ने सरिता मगर र काजोल श्रेष्ठलाई भने बि ग्रेडको कन्ट्रयाक्ट थमाइएको छ । यी दुवै खेलाडी नेपालको पछिल्लो प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीहरु हुन् ।

Click to comment

Trending