IPL

राजस्थानको विजयी सुरुवात, चेन्नाई १६ रनले पराजित

Published

on

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (अईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको हो । दोश्रो खेलमा चेन्नाईको यो पहिलो हार हो । पहिलो खेलमा चेन्नाईले साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

जितका लागि २१७ रनको विशाल योगफल लिएर ब्याटिङमा आएको चेन्नाईले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २०० रन मात्र बनाउन सक्यो ।

चेन्नाईले खेलमा राम्रो सुरुवात गरे पनि निरन्तरता भने दिन सकेन र कुनै पनि समय जित निकाल्न सक्ने अवस्थामा पनि पुगेन । ओपनर शेन वाटसन र मुरली विजयले पहिलो विकेटका लागि छ दशमलब चार ओभरमा ५६ रन जोडे । तर दुई रनको अवस्थामा २१ बलमा ३३ रन बनाएका वाटसन र २१ बलमा २१ रन बनाएका विजय पेभेलियन फर्किए ।

त्यस पछि आएका साम कुर्रान छ बलमा १७ रन बनाएर तथा रुतुराज गायकवाड पहिलो बलमा नै राहुल टेवाटियाको बलमा आउट भए पछि आठ दशमलब छ ओभरमा ७७ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो । केदार जाधव पनि २२ रन बनाएर आउट हुन पुगे ।

चेन्नाईको पारी सम्हाल्ने क्रममा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका फाफ डु प्लेसिसले तुफानी पारी खेल्ने क्रममा ३७ बलको सामना गर्दै एक चौका र सात छक्का प्रहार गर्दै ७२ रन बनाए र आउट भए । उनी १९औं ओभरमा जोफ्रा आर्चरको बलमा आउट भए पछि चेन्नाईको हार सुनिश्चित बन्यो ।

कप्तान महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा लगातार तीन छक्का सहित १७ बलमा अविजित २९ रन बनाए पनि चेन्नाईलाई जितका लागि पर्याप्त भएन ।

महँगो साबित भएका रुतुराज गायकवाड चार ओभरमा ३७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए ।

यस अघि कप्तान स्टिभ स्मिथ र सन्जु स्यामसनको अर्धशतक तथा आठौं नम्बरमा ब्याटिङ गर्न आएका जोफ्रा आर्चरले अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २१६ रन बनायो ।

राजस्थानले सुरुवात भने राम्रो गर्न सकेन । आजको खेलबाट आईपीएलमा डेब्यु गरेका यु१९ टोलीका यशस्वी जैसवाल मात्र छ रन बनाएर आउट भए । जैसवाल दिपक चाहारको बलमा कट एण्ड बोल्ड भए ।

दुई दशमलब दुई ओभरमा टोलीको स्कोर ११ रनको अवस्थाबाट कप्तान स्मिथ र स्यामसनले ११ दशमलब चार ओभरमा दुई विकेटको नोक्सानीमा १३२ रनको अवस्था सम्म पुर्याय । उनीहरुले दोश्रो विकेटका लागि एक सय २१ रन जोड्दै राजस्थानको पारी सम्हाले । ३२ बलको सामना गर्दै नौं छक्का र एक चौकाको मद्धतमा ७४ रन बनाएका स्यामसन लुंगी एनगिदीको शिकार भए ।

स्यामसन आउट भए पनि अर्को छोडबाट राजस्थानको पारी सम्हालेका स्मिथले ४७ बल खेल्दै समान ४-४ चौका र छक्का प्रहार गर्दै ६९ रन बनाए । उनी १९ औं ओभरमा आउट भए ।

त्यस पछि ब्याटिङमा आएका डेभिड मिलरले एक बल पनि खेल्न नपाउँदै रन आउट हुन पुगे भने रबिन उथप्पा पाँच, राहुल टेवाटिया १०, रियान पराग छ रनमा आउट भए भने अविजित रहेका टम कुर्रानले १० रन तथा जोफ्रा आर्चरले आठ बलमा चार छक्काको मद्धतमा २७ रन बनाए । आर्चरले एनगिदीको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे ।

चेन्नाईका साम कुर्रानले चार ओभरमा ३३ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।

आईपीएलको अंक तालिका हेर्न यो लिंक क्लिक गर्नुहोला ।

Click to comment

Trending