Headline

गाँगुलीले पाकिस्तानी क्रिकेटरहरुको तस्विर धमिल्याउदा अख्तरले फर्काए जवाफ

Published

on

भारतीय क्रिकेट बोर्डका अध्यक्ष तथा पुर्व कप्तान सौरभ गाँगुलीले आफ्नो एक फोटोको पृष्ठभुमिमा रहेका पाकिस्तानी खेलाडीहरुको तस्विर धमिलो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि बिवादमा तानिएका छन् ।

इण्डियन प्रिमियर लिगका लागि हाल युएईमा रहेका गाँगुलीले शारजाहमा खिचिएको फोटोमा पृष्ठभुमिमा रहेको बिलबोर्डमा रहेका पाकिस्तानी क्रिकेटरहरुको तस्विर धमिलो बनाएर पोस्ट गरेका थिए । उक्त बोर्डमा पुर्व पाकिस्तानी क्रिकेटरहरु रसिद लतिफ, जावेद मियान्दाद, मिस्बाह–उल–हक लगायतका खेलाडीहरु रहेका थिए ।

कोरोना भाइरसका कारण भारतमा सम्भव हुन नसकेपछि युएईको शारजाद, अबु धाबी र दुबईले आईपिएलका खेलहरु आयोजना गरिरहेको हो । गाँगुली शारजाह क्रिकेट स्टेडियममा तयारी हेर्नका लागि त्यहा पुगेका थिए ।

गाँगुलीले गरेको पोस्ट जसमा उनले पाकिस्तानी क्रिकेटरहरु रहेको बिलबोर्ड (बिचबाट सबैभन्दा माथि) धमिलो बनाएका छन् ।

गाँगुलीको पोस्टको जवाफमा पुर्व पाकिस्तानी फास्ट बलर शोएब अख्तरले हालै सन्यास लिएका भारतका पुर्व कप्तान महेन्द्र सिँह धोनी रहेका खेलको एक फोटो हाल्दै जवाफ फर्काएका छन् ।

“न हाम्रो सम्झना धमिलिनेछ, न तस्विरहरु । क्याप्टेन कुल हेर्दै गर्दा छक्का हान्ने प्रयास गर्दै,” एक टेस्ट म्याचमा विकेटकिपर धोनीको अगाडी ठूलो सट खेल्ने प्रयास गर्दै गरेको फोटो ट्विटरमा हाल्दै अख्तरले लेखेका छन् ।

लगातारको सिमा बिवादका कारण भारत र पाकिस्तानबीच एक दशक भन्दा बढी समयदेखि दुई देशीय श्रृंखलाहरु हुन सकेका छैनन् भने आईपिएलमा पनि पहिलो संस्करण यता पाकिस्तानी खेलाडीहरुलाई समावेश गराइएको छैन ।

२००८ मा भएको पहिलो संस्करणमा गाँगुली र अख्तर सँगै कोलाकाता नाइट राइडर्सबाट खेलेका थिए ।

Click to comment

Trending