Headline

सिटी व्यवस्थापक ग्वार्डियोलाका लागि फोडेनको प्रदर्शन अविश्वसनीय

Published

on

इङ्गलिस प्रिमियर लिगमा सोमबार राति म्यानचेस्टर सिटी उल्भ्सलाई पुनरागमनबाट रोक्दै ३–१ को जितबाट नयाँ सिजन शुरुवात गर्दा व्यवस्थापक पेप ग्वार्डियोलाले फिल फोडेनलाई अविश्वस्नीय भन्दै तारिफ गरेका छन् ।

च्याम्पियन्स लिगको क्वार्टर फाइनलसम्म खेलेको कारण सिटीले ढिलो प्रिमियर लिग शुरु गर्दा डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलले ६ अंकको अग्रता बनाइसक्दा २०१८–१९ को बिजेता शुरुवाती सफलताको खोजीमा थियो ।

मोलिनक्समा भएको खेलमा सिटीले पहिलो हाफमै २–० को अग्रता बनाइसकेको थियो । तर दोश्रो हाफमा उल्भ्सले उत्कृष्ट प्रदर्शन गर्दै ६८ औं मिनेटमा राउल जिमिनेजको गोलबाट खेलमा फर्किएको थियो । तर बल नियन्त्रणमा राख्न सक्दा सिटीले अग्रतालाई बचाइ राख्यो भने अतिरिक्त समयको पाचौं मिनेटमा ग्याब्रियल जिजसले गोल गरेपछि फराकिलो जित हात पारेको थियो ।

सिटीले २० औं मिनेटमा केभिन डि ब्रुन र ३२ औं मिनेटमा फिल फोडेनको गोलबाट २–० को अग्रता बनाएको थियो । इङ्गल्याण्डको राष्ट्रिय टोलीमा रहदा म्यानचेस्ट युनाइटेडका मेसन ग्रिनउडसँगै स्वास्थ्य प्रोटोकोल तोडेको आरोपमा घर फर्काइएका फोडेनका लागि सोमबारको प्रदर्शन उनलाई व्यक्तिगत रुपमै निकै आवश्यक रहेको थियो ।

इङ्गल्याण्ड बसेको टिम होटलमा यौनकर्मी महिलाहरु लिएर आएपछि सिटीमा निकै निन्दा गरिएका फोडेनले ग्वार्डियोलाको बिश्वास जित्न सफल भएका छन् । “फोडेनले गोल गर्दै सेकेण्ड हाफमा अविश्वसनीय प्रदर्शन गरेका थिए । उनले हामीलाई बल आफ्नो नियन्त्रणमा राखिराख्न बिशेष मद्दत गरे,” ग्वार्डियोलाले भने ।

निकै छोटो अवधिको प्रि सिजन रहेका कारण जितका साथ शुरुवात गर्न पाउदा ग्वार्डियोला निकै हर्षित देखिन्थे ।

“थकानका कारण हामी लगातार कुद्न सकिरहेका थिएनौं तर सामान्यत हामीले राम्रो प्रदर्शन गरेका छौं । हामी पछिल्लो दुई हप्ता जुन स्थितिमा थियौं मैले केही संघर्ष गर्नु पर्ने हो की भनेर सोचेको थिए तर हामीले सबैकुरा नियन्त्रणमा राख्न सक्यौं,” ग्वार्डियोला भन्छन् ।

Click to comment

Trending