Headline

युरोपियन फुटबलमा शनिबारः पिर्लोको बिजयी शुरुवात, एमबाप्पेको उत्कृष्ट पुनरागमन, रियल पहिलो खेलमै बराबरीमा रोकियो

Published

on

आन्द्रे पिर्लोले प्रशिक्षकको रुपमा उत्कृष्ट शुरुवात पाउदा युभेन्टसले इटालियन सिरी आ अन्तर्गतको आफ्नो पहिलो खेलमा साम्पडोरियालाई ३–० ले हराएको छ ।

टुरिनमा भएको खेलमा स्वेडिस डेब्युटेन्ट डेजान कुलुसेभ्स्कीले १३ मिनेटमै युभेन्टसको खाता खोलेका थिए भने लियोनार्डो बोनुच्चिले ७८ औं मिनेटमा दोश्रो गोल गरे । क्रिष्चियानो रोनाल्डोले अन्तिम समयमा तेश्रो गोल गरेका थिए ।

गत बुधबार मात्र व्यवसायिक प्रशिक्षणको लाइसेन्स पाएका पिर्लोको अब अर्को यात्रा एएस रोमातर्फ हुनेछ भने त्यसपछि नापोलीसँग खेल्नेछन् । नापोलीले शनिबारकै खेलमा पार्मालाई २–० ले हराएको थियो ।

शनिबारको खेल देखि इटालियन लिगमा एक हजार सम्म दर्शकलाई रँगशाला प्रवेश गर्ने अनुमति दिइएको छ ।

रियल म्याड्रिड पहिलो खेलमा रोकियो

स्पेनिस ला लिगामा डिफेन्डिङ्ग च्याम्पियन रियल म्याड्रिड आफ्नो पहिलो खेलमै रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा निकै कम मौका सृजना गरेको रियलले केही गोल गर्ने अवसर गुमाएको थियो ।

म्यानचेस्टर सिटीका पुर्व मिडफिल्डर डेविड सिल्भाले रियल सोसिडाडका लागि डेब्यु गरे तर गोलको मौका बनाउन सकेनन् । रियल खेलमा एडेन हजार्ड र ग्यारेल बेलको अनुपस्थितिमा खेलिरहेका थिए । हजार्ड घाइते रहेका छन् भने बेल इङ्गलिस टोली टोटेन्ह्याम हटस्पर फर्किसकेका छन् ।

शनिबार नै ला लिगामा भएका अन्य खेलहरुमा रियल बेटिसले रियल भालाडोलिड र काडिजले हुवेस्कालाई समान २–० गोल अन्तरले पराजित गरे भने ग्रानडाले आल्भेसलाई २–१ ले हरायो ।

एमबाप्पेको उत्कृष्ट पुनरागमन

कोरोना भाइरस संक्रमणका कारण फ्रेञ्च लिग वानमा शुरुवाती तीन खेल गुमाएका फ्रेञ्च स्टार किलियन एमबाप्पेले उत्कृष्ट पुनरागमन गरेका छन् । शनिबारको खेलमा पिएसजीले निसलाई ३–० ले हराउदा एमबाप्पे गोल गर्न सफल भए ।

एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ३८ औं मिनेटमा अग्रता दिलाए भने एन्जेल डि मारियाले अतिरिक्त समयको पहिलो मिनेटमा दोश्रो गोल गरेका थिए । दोश्रो हाफको २१ मिनेटपछि मार्किन्होसले गोल गर्दै पिएजसीलाई फराकिलो जित दिलाए ।

यसअघिको खेलमा रेड कार्ड खाएका कारण पिएसजीका ब्राजिलियन स्टार नेमारले खेल गुमाएका थिए । नेमारलाई थप दुई खेलका लागि पनि प्रतिबन्ध गरिएको छ । पिएसजीले लिगमा पहिलो चारमध्ये दुई खेल जितेको छ ।

अन्य खेलमा नान्टेसले सेन्ट एटिनेसँग २–२ र मार्सेले लिलसँग १–१ को बराबरी खेलेका छन् । ब्रेस्टले ओरिएन्टलाई ३–२ र मोन्टपेलियरले एन्जर्सलाई ४–१ ले हरायो ।

Click to comment

Trending