Headline

आर्सनलको सुदृढ मानसिकताले व्यवस्थापक आर्टेटा खुशी

Published

on

एडी एनकेटियाह्ले अन्तिम समयमा बिजयी गोल गरेपछि आर्सनल व्यवस्थापक मिकेल आर्टेटाले आफ्नो टोलीको मानसिक बलको सराहना गरेका छन् ।

शनिबारको अन्तिम इङ्गलिस प्रिमियर लिग खेलमा आर्सनलले वेष्टह्याम युनाइटेडलाई २–१ ले पराजित गर्यो । तर यस क्रममा आर्सनल दवाबमुक्त भने रहन सकेको थिएन । आर्सनलले २५ मिनेटमै एलेक्जेण्ड्रे लाकाजेटको गोलमार्फत अग्रता लिएको थियो ।

तर मध्यान्तर अघि नै रायन फेडेरिक्सले गोल गरेपछि वेष्टह्याम खेलमा फर्किएको थियो । एमिरेट्समै अंक गुमाउने खतरामा रहेको आर्सनललाई ८५ औं मिनेटमा एनकेटियाह्ले जोगाएका थिए । उनले ड्यानी सेबालोसको पासमा गोल गरेपछि आर्सनल सिजनको सुखद शुरुवातलाई निरन्तरता दिन सफल भएको थियो ।

एभर्टन र क्रिष्टल प्यालेससँगै आर्सनलले सिजनको शुरुवाती दुई खेलमा जित हात पारेको छ । “अन्तिम २५ मिनेट केटाहरुले जुन दृष्टिकोणमा खेले त्यो मलाई निकै मन पर्यो । उनीहरु पहिले निराश देखिएका थिए तर पछि उत्साहका साथ प्रतिस्पर्धामा उत्रन पुगे,” आर्टेटाले भने ।

“शायद केही महिनाअघि हामी यो खेलमा या त बराबरीमा रोकिने थियौं वा पराजित नै हुने थियौं । तर आज जितेका छौं । अन्त्यमा हामीले जसरी भए पनि जित्ने तरिका खोज्नुपर्छ किनभने यो सिजभर यस्तै खेलहरुको सामना गर्नुपर्नेछ,” आर्टेटा भन्छन् ।

शनिबारको खेलपछि वेष्ट ह्यामले भने लगातार दुई खेलमा पराजय बेहोरेको छ । यसअघि लिड्सले १६ बर्षपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै फुलह्यामलाई ४–३ ले हरायो भने म्यानचेस्टर युनाइटेड ओल्ड ट्राफोर्डमै क्रिष्टल प्यालेससँग पराजित हुन पुगेको थियो ।

Click to comment

Trending