Headline

म्याक्सवेल र केरीको शतकमा रोमान्चक जित निकाल्दै अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड विरुद्धको शृंखला माथि कब्जा

Published

on

ग्लेन म्याक्सवेल र एलेक्स केरीको शतकको मद्धतमा अस्ट्रेलियाले तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली इंग्ल्यान्ड माथि तीन विकेटको रोमान्चक जित हात पार्दै तीन खेलको शृंखला माथि २-१ ले कब्जा जमाएको छ । पहिलो खेल १९ रनले जितेको अस्ट्रेलियाले दोश्रो खेल २४ रनले गुमाएको थियो ।

यस अघि सन् २०१६ देखि घरेलु मैदानमा भएको लगातार नौंवटा शृंखला जितेको इंग्ल्यान्डको जितमा अस्ट्रेलियाले पुर्णबिराम लगाइदिएको छ । सन् २०१८ मा अस्ट्रेलिया र इंग्ल्यान्ड बीचको पाँच खेलको एकदिवसीय शृंखलामा इंग्ल्यान्डले क्लिन स्विप गरेको थियो ।

जितका लागि ३०३ रनको विशाल लक्ष्य लिएर ब्याटिङ गर्न आएको अस्ट्रेलियाले सस्तैमा पाँच विकेट गुमाए पनि म्याक्सवेल र केरीले छैठौं विकेटका लागि २१२ रनको साझेदारी गरे पछि अस्ट्रेलियाले ४९ दशमलब चार ओभरमा सात विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

अस्ट्रेलियाको जितमा म्याक्सवेलले ९० बलमा चार चौका र सात छक्काको मद्धतमा सर्वाधिक १०८ रन बनाए भने केरीले पनि ११४ बल खेल्दै सात चौका र दुई छक्का प्रहार गर्दै १०६ रनको योगदान दिए । ७३ रनको अवस्थामा पाँच विकेट गुमाएर हार तर्फ लम्केको अस्ट्रेलियाको जितमा खेलको म्यान अफ द म्याच घोषित म्याक्सवेलले केरीसँग मिलेर १८५ बलमा २१२ रन जोडेका हुन् । यो एकदिवसीयमा छैठौं विकेटका लागि तेश्रो ठुलो साझेदारी हो ।

म्याक्सवेल ४८औं तथा केरी ४९औं ओभरमा आउट हुँदा अस्ट्रेलियालाई जितका लागि अन्तिम छ बलमा १० रन आवस्यक रहेको अवस्थामा तिब्र गतिका बलर मिचेल स्टार्कले समान १-१ चौका र छक्का प्रहार गर्दै अस्ट्रेलियाको जित सुनिश्चित गरेका हुन् । उनले तीन बलमा अविजित ११ रन जोडे ।

३०३ रनको विशाल लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले खराब सुरुवात गर्यो । ओपनरद्वय डेभिड वार्नर र आरोन फ़िञ्च क्रमश २४ तथा १२ रन बनाएर आउट भए भने मार्कस स्टोइनिसले पनि चार रन भन्दा जोड्न सकेनन् । त्यस्तै मार्नस लबुशान २० तथा शन मार्श दुई रन बनाएर पेभेलियन फर्किए ।

इंग्ल्यान्डका क्रिस वक्स र जो रुटले समान २-२ विकेट हात पारे ।

यस अघि पहिलो दुई बलमा लगातार दुई विकेट गुमाएर खराब सुरुवातका बाबजुत जोनी बेरस्टोले शतक तथा साम बिलिङस र क्रिस वक्सले अर्धशतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ३०२ रन बनायो ।

इंग्ल्यान्डको तर्फबाट ओपनर जोनी बेरस्टोले १२६ बलको सामना गर्दै १२ चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ११२ रन बनाए भने साम बिलिङसले पनि ५८ बलमा चार चौका र दुई छक्काको मद्धतमा ५७ रन जोडे । इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा उनीहरुले पाँचौं विकेटका लागि ११४ रन जोडे । बेरस्टो प्याट कमिन्सको बलमा बोल्ड भए भने बिलिङस जाम्पाको बलमा शन मार्शको हातबाट क्याच आउट हुन पुगे ।

ओपनर जेसन रोय र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट लगातर दुई बलमा मिचेल स्टार्कको बलमा गोल्डेन डक आउट भए । चौथों नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ओईन मोर्गन २३ तथा विकेट किपर ब्याट्सम्यान जस बटलर आठ रन बनाएर एडम जाम्पाको शिकार भए ।

त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका क्रिस वक्सले पनि तुफानी पारी खेल्दै ३९ बलमा छ चौकाको मद्धतमा अविजित ५३ रन जोडे भने आदिल रशिदले अविजित ११ तथा टम कुर्रानले पनि १९ रनको पारी खेले ।

लगातार रुपमा यस शृंखलामा विकेट निकाल्न सफल रहेका जाम्पाले १० ओभरमा ५१ रन खर्चिएर तीन विकेट हात पारे भने महंगो साबित भए पनि स्टार्कले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए ।

Click to comment

Trending