Corona Virus

महामारीले ब्राजिलियन फुटबल मार्केट ध्वस्त

Published

on

बिश्वमा ब्राजिलले अन्य देशहरुभन्दा सबैभन्दा बढी निर्यात गर्ने गरेको छ तर कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय ट्रान्सफरमा भारी गिरावट आउदा युवा खेलाडीहरुको सम्झौताबाट कमाउने त्यहाका क्लबहरुमा आर्थिक संकट उत्पन्न हुन थालेको छ ।

ट्रान्सफरमार्केट वेबसाइटको तथ्यांकलाई आधार मान्दै गरिएको एक अध्ययनमा यो सिजनको युरोपियन ट्रान्सफर विन्डोमा ब्राजिलबाट बिदेशी क्लबमा स्थानान्तरण हुने खेलाडीहरुमा ६२ प्रतिशतको गिरावट आएको छ । गत बर्ष जुन १ देखि सेप्टेम्बर ८ सम्मको अवधिमा १ सय ९४ ब्राजिलियन खेलाडीहरुले ब्राजिलियन क्लब छोड्दै लोन या त ट्रान्सफरमा बिदेश खेल्न गएका थिए ।

यो बर्ष जम्मा ७४ खेलाडीमात्र ब्राजिलबाट बाहिरिएका छन् । “ट्रान्सफर मार्केट सुस्ताएको छ । सबैको आर्थिक अवस्था निकै जटिल बनेको कारण क्लबहरुले धेरै पैसा खर्च गरिरहेका छैनन्,” इएसपिएन कमेन्टेटर गुस्ताभो होफम्यान भन्छन् ।

बिदेशी भुमिमा फुटबल खेल्ने खेलाडीहरुको सुचिमा ब्राजिल २ हजार ७ सय ४२ खेलाडीसहित अग्रस्थानमा रहेको छ । स्विट्जस्ल्याण्डको इन्टरन्यासनल सेन्टर फर स्पोर्ट्स स्टडिजले मे महिनामा निकालेको तथ्यांक अनुसार २ हजार ३ सय ३० खेलाडीसहित अर्जेन्टिना दोश्रो र एक हजार सात सय ४० फुटबलरसहित फ्रान्स तेश्रो स्थानमा रहेको छ ।

पेले, नेमार, रोनाल्डो, रोनाल्डिन्हो लगायत सयौं फुटबल हस्तीहरु जन्माएको ब्राजिलका क्लबहरुको एक चौथाई आम्दानी खेलाडीको ट्रान्सफरबाटै हुने गरेको छ । टेलिभिन प्रशारण अधिकारबाट प्राप्त हुने आम्दानीबाट यो केही कम मात्रै हो ।

ब्राजिलमा ट्रान्सफरको संख्यमा गिरावट आएको मात्रै होइन । कोभिड–१९ को आर्थिक अनिश्चितताका कारण सम्झौतामा संलग्न हुदै आएको पैसामा पनि भारी गिरावट आएको छ ।

गत बर्ष तीन ठूला अन्तर्राष्ट्रिय ट्रान्सफरहरुबाट ब्राजिलियन क्लबहरुले ९१ दशमलव चार मिलियन डलर कमाएका थिए । यसमा रियल म्याड्रिड र ब्राजिलियन क्लब सान्तोसबीच युवा विङ्गर रोद्रिगोका लागि भएको ४५ मिलियन युरोको सम्झौता प्रमुख रहेको थियो ।

यो बर्षका तीन ठूला ट्रान्सफरबाट ब्राजिलियन क्लबहरुले ६२ मिलियन युरो भन्दा कम कमाएका छन् । यसमा पोचुगिज क्लब बेन्फिकाले ग्रेमियोका फर्वार्ड तथा राष्ट्रिय टोलीका उत्कृष्ट खेलाडी एभर्टनका लागि दिएको २८ मियिन युरो समावेश छ । बेन्फिकाले नै कोरिन्थियनका एट्याकिङ्ग मिडफिल्डर पेद्रिन्होका लागि १८ मिलियन युरो तिरेको छ ।

अन्य कुनै बर्ष भएको भए एभर्टनले ग्रेमियोका लागि बेन्फिकाबाट त्यो भन्दा भारी रकम ल्याउन सक्ने थिए, होफम्यानले भने ।

यसैपनि भारी ऋणमा रहेका ब्राजिलियन क्बलहरुका लागि यो गिरावट सबैभन्दा खराब समयमा आइपरेको हो । अमेरिकापछि कोभिड–१९ को सबैभन्दा बढी मृतक संख्या रहेको ब्राजिल सिँगो देशको रुपमा नै आर्थिक मन्दी तर्पm धकेलिसकेको छ ।

“महामारीका कारण नै क्लबहरु आर्थिक रुपले कमजोर बन्दै गइरहेका छन्,” ब्राजिलको सबैभन्दा ठूलो मिडिया मध्येको एक ग्लोबोका खेलकुद व्यवसाय पत्रकार रोद्रिगो कपेलो भन्छन् । महामारीका कारण झण्डै चार महिना फुटबल ठप्प गर्न कर लाग्दा क्लबहरुलाई प्रायोजन, टेलिभिज र टिकटबाट हुने आम्दानीमा नराम्ररी धक्का लाग्न पुगेको छ ।

डलर र युरोको बिरुद्ध ब्राजिलियन नोट रियल कमजोर बन्दा आर्थिक मन्दीले अन्तर्राष्ट्रिय ट्रान्सफरलाई आकर्षक बनाएको छ । आम्दानीको अन्य स्रोत कम्जोर बन्दै जादा ब्राजिलियन क्लबहरुका लागि घर ल्याउने मुल्य भने बढेको छ । “तर महामारीले निम्त्याएको आर्थिक अनिश्चितताका कारण युरोपियन क्लबहरु अहिले शतर्क भएर खर्च गरिरहेका छन्,” अन्तर्राष्ट्रिय एजेन्ट एड्गार्डो अगिलार भन्छन् ।

अगिलारको कम्पनी सकर स्पोर्ट्स ग्रुपले सम्हाल्ने गरेको ट्रान्सफरहरुको मुल्यमा ७० प्रतिशतले गिरावट आएको छ ।

महामारिको यो प्रभाव सिँगो दक्षिण अमेरिकामै देखिएको छ । ब्राजिलियन क्लबहरुले अन्य दक्षिण अमेरिकी राष्ट्रहरु उरुग्वे, पेरु र कोलम्बिायबाट पनि खेलाडीहरुको आयातमा नियन्त्रण गरेको छ । “ब्राजिलको मार्केटमा यसअघि नै रहेका खेलाडीहरुसँग मात्र उनीहरुले सम्झौता गर्दैछन्,” वल्र्ड स्पोर्ट्स म्यानेजमेन्टका कोलम्बियन एजेन्ट कार्लोस कलेरोले बताए ।

दक्षिण अमेरिकाका अन्य देशहरुबाट ब्राजिलमा हरेक सिजन कम्तिमा तीन खेलाडीहरुको सम्झौता गर्दै आएका कलेरोले यो बर्ष एक जनाको पनि सम्झौता गर्न सकेका छन् ।

Click to comment

Trending