अन्तर्राष्ट्रिय

अस्ट्रेलिया माथि इंग्ल्यान्डको रोमान्चक जित, शृंखला १-१ को अवस्थामा

Published

on

तिब्र गतिका बलर जोफ्रा आर्चरको घतक बलिङ तथा क्रिस वक्सको अलराउण्ड प्रदर्शनमा घरेलु टोली इंग्ल्यान्डले दोश्रो एकदिवसीय खेलमा अस्ट्रेलिया माथि २४ रनको रोमान्चक जित हात पारेको छ । यससँगै तीन खेलको शृंखला १-१ को स्थितिमा पुगेको छ । अस्ट्रेलियाले पहिलो एकदिवसीय खेल १९ रनले जितेको थियो ।

जितका लागि २३२ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको अस्ट्रेलियाले ४८ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र २०७ रन बनाउन सक्यो र खेलमा २४ रनको हारको सामना गर्यो ।

इंग्ल्यान्डलाई जित दिलाउने क्रममा आर्चर, वक्स र साम कुर्रानले समान ३-३ विकेट हात पारे । घातक बलिङ गर्दै खेलको म्यान अफ द म्याच चुनिएका आर्चरले १० ओभरमा २४ रन खर्चिए भने वक्सले १० ओभरमा नै ३२ रन दिए ।

आर्चरले ओपनर डेभिड वार्नरलाई छ तथा मार्कस स्टोइनिसलाई नौं रनमा आउट गर्दै अस्ट्रेलियाको खराब सुरुवात गराए । कप्तान आरोन फ़िञ्च र मार्नस लबुशानले तेश्रो विकेटका लागि १०७ रन जोड्दै अस्ट्रेलियाको पारी सम्हाल्ने प्रयास गरे । तर ५९ बलमा ४८ रन बनाएका लबुशान र १०५ बलमा ७३ रन बनाएका कप्तान फ़िञ्च दुबै वक्सको शिकार हुँदा अस्ट्रेलियाले खेलमा फर्कने मौका नै पाएन । विकेट किपर ब्याट्सम्यानले आदिल रशिदको बलमा आउट हुनु अघि ४१ बलमा ३६ रन जोडे पनि आफ्नो टोलीको हार टार्न सकेनन् ।

मिचेल मार्श र ग्लेन म्याक्सवेल समान १-१, प्याट कमिन्स ११ तथा मिचेल स्टार्क गोल्डेन डकआउट हुँदा अस्ट्रेलियाले हारको सामना गर्न पुग्यो ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र २३१ रन बनाउन सक्यो ।

खेलमा खराब सुरुवात गरेको इंग्ल्यान्डका ओपनरद्वय जोनी बेरिस्टो शुन्य रनमा मिचेल स्टार्कको बलमा आउट भए भने अर्का ओपनर जेसन रोय पनि २१ रनको अवस्थामा रन आउट हुन पुगे ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट र कप्तान आईन मोर्गनले तेश्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको पारी सम्हाल्ने प्रायस गरे । तर ७३ बलमा ४९ रन बनाएका रुट र ५२ बलमा ४२ रन बनाएका कप्तान मोर्गन एडम जाम्पाको शिकार भए पछि इंग्ल्यान्ड २८ दशमलब पाँच ओभरमा ११७ रनमा पाँच विकेटको अवस्थामा पुग्यो ।

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका क्रिस वक्सले इंग्ल्यान्डको लागि रन जोड्ने प्रयास गरे तर उनी पनि ३९ बलमा २६ रन बनाउँदै ४१औ ओभरमा जस ह्याजलउडको बलमा आउट भए पछि इंग्ल्यान्ड सानो योगफलमा समेटिन अवस्थामा पुग्यो ।

वक्स आउट भए पनि टम कुर्रान र आदिल रशिदले नवौं विकेटका लागि ५७ बलमा ७६ रन जोड्दै इंग्ल्यान्डलाई २०० को स्कोर पार गराए । ३९ बलमा ३७ रन बनाएका कुर्रान मिचेल मार्शको बलमा आउट भए भने २६ बलमा ३५ रन बनाएका रशिद अविजित रहे ।

अस्ट्रेलियाको तर्फबाट एडम जाम्पाले उत्कृस्ट बलिङ गर्दै १० ओभरमा ३६ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै किफायती बलिङ गरेका जस ह्याजलउडले एक विकेट हात पारे पनि १० ओभरमा दुई मेडन ओभर सहित मात्र २७ रन खर्चिए ।

तेश्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ ।

Click to comment

Trending