Headline

युएस ओपनको उपाधिसँगै ओसाका एसियाबाट सर्वाधिक ग्राण्ड स्ल्याम जित्ने खेलाडी

Published

on

एक पछि अर्को पुनरागमन गर्दै जापानकी नाओमी ओसाकाले दोश्रो पटक युएस ओपनको उपाधि जितेकी छिन् ।

शनिबार फ्लसिङ्ग मिडोजमा बेलारुसकी भिक्टोरिया आजारेन्काबिरुद्धको फाइनलमा पहिलो सेट १–६ ले गुमाएपछि ओसाकाले बाकी दुई सेटमा ६–३, ६–३ को जित हात पार्दै करिअरको तेश्रो ग्राण्ड स्ल्याम चुम्न सफल भइन् । २२ बर्षिय ओसाकाले २०१८ को युएस ओपन र २०१९ को अष्ट्रेलियन ओपन जितेकी थिइन् ।

“मैले खासै आनन्द उठाउन सकिन । मेरो लागि यो निकै कठिन फाइनल थियो,” झण्डै दुई घण्टा चलेको फाइनलपछि ओसाकाले भनिन् । उपाधिसँगै उनले ३० लाख डलर पनि जितेकी छिन् ।

पहिलो सेटमा ओसाकालाई पूर्ण रुपमा दवाबमा राखेकी आजारेंकाले ८८ प्रतिशत सर्भिसमा अंक बटुल्दै २६ मिनेटमै अग्रता लिन सफल भएकी थिइन् । दोश्रो सेटमा पनि २–० को अग्रता लिएकी आजारेन्काले त्यसपछि भने लय गुमाउन पुगेकी थिइन् ।

युएस ओपन इतिहासमा पहिलो सेट गुमाएर पनि उपाधि जित्ने आसोका सन् १९९४ पछि पहिलो महिला हुन् । एसियाबाट अब उनको नाममा सबैभन्दा धेरै ग्राण्ड स्ल्याम रहेको छ । यसअघि चिनकी लि नाले दुई ग्राण्ड स्ल्याम जितेकी थिइन् ।

आजारेन्का २०१३ को युएस ओपन फाइनलमा सेरेना विलियम्ससँग पराजित भए यता पहिलो पटक ग्राण्ड स्ल्याम फाइनल खेलिरहेकी थिइन् ।

Click to comment

Trending