Headline

नाइकीसँगको सम्बन्ध बिच्छेदपछि नेमारले गरे पुमासँग नयाँ सम्झौता

Published

on

ब्राजिलियन स्टार नेमारले पुमासँग नयाँ सम्झौता गरेका छन् । दुई साताअघि १३ बर्षको उमेरदेखि नाइकीसँग गरेको सम्झौता तोडेपछि पेरिस सेन्ट जर्माइन फर्वार्डले जर्मन ब्राण्ड पुमासँग नयाँ सम्झौता गरेका हुन् ।

“वेल्कम टु द फ्याम (परिवारमा स्वागत छ), पुमाले ह्यास ट्याग किँग इज ब्याक भन्दै नेमारलाई आफ्नो औपचारिक ट्विटर ह्याण्डलमा ‘मेन्सन’ गरेको छ । पोस्टमा नेमारले पुमाको पहिरन लगाएको फोटो राखिएको छ ।

बिश्वकै महँगा खेलाडी नेमारले आफू पुमाको नयाँ ‘पोस्टर बोय’ भएको एउटा खुला पत्रमा आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । “म पुमाको पहिरन लगाएर खेलिसकेका पेले, क्रुएफ, युसेबियो, म्यारोडोनाजस्ता लेजेण्डहरुको भिडियो हेरेर हुर्किएको हु । यसै कारण फुटबलरहरुलाई लेजेण्ड बन्न मद्दत गरेको ब्राण्डसँग आबद्ध भएको हु,” उनले लेखेका छन् ।

सम्झौताको अवधिका साथै रकम भने पुमा र नेमार दुवैले खुलाएका छैनन् । नाइकीसँगको सम्झौता टुङ्गिएपछि २८ बर्षिय नेमारले पुमासँगै नयाँ सम्झौता गर्न गइरहेको आकलन गरिएको थियो ।

नेमारले केही दिन अघि इन्स्टाग्राममा पुमा, पुमा फुटबलसँगै ब्राण्डसँग सम्बन्ध रहेका अन्य आठ अकाउण्टलाई फलो गरेपछि उनले पुमासँग सम्झौता गरिसकेको लगभग तय जस्तै भइसकेको थियो । नेमारले पछिल्लो पटक नाइकीसँग गरेको ११ बर्षे सम्झौताको रकम १ सय ५ मिलियन डलर रहेको रिपोर्ट सार्वजनिक भएको थियो ।

सन् २०१७ मा फ्रेञ्च लिग वान च्याम्पियन पिएसजीले २ सय २२ मिलियन युरो तिर्दै बार्सिलोनाबाट भित्र्याएपछि बिश्व फुटबलका सर्वाधिक महँगा फुटबलर बनेका नेमारको नयाँ सम्झौता रकम नाइकीसँगको तुलनामा निकै ठूलो रहेको बुझ्न सकिन्छ ।

दुब्लो आवरण, ट्याटु, निरन्तर परिवर्तन हुने हेयर–स्टाइल र सामाजिक सञ्जालमा करोडौं फलोवरका कारण नेमार बिश्व खेलकुदमै ठूलो नाम बनिसकेपछि उनको प्रतिष्ठामा समय–समय आँच आउने गरेको छ ।

मैदानमा उनलाई जाना–जान डाइभिङ्ग गर्ने आरोप लाग्ने गरेको छ भने मैदानबाहिर कर छलि र २०१९ मा बलात्कारको आरोप समेत लागेको थियो । प्रमाणको अभावमा उनीमाथि लागेको बलात्कारको आरोप भने ब्राजिलियन प्रहरीले खारेज गरिदिएको थियो ।

गत सिजनको च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि स्पेनिस पर्यटकीय द्विप इबिजामा छुट्टि मनाएर फर्किएका नेमारलाई कोभिड–१९ पुष्टि भएपछि उनले फ्रेञ्च लिग वानको पहिलो खेल छुटाएका थिए । अहिले उनी कोरोना मुक्त भइसकेका छन् ।

Click to comment

Trending