Headline

युएस ओपन सेमिफाइनलमा चुकिन सेरेना

Published

on

सेरेना विलियम्सको २४ औं ग्राण्ड स्ल्याम जित्दै किर्तिमानको बराबरी गर्ने आशा युएस ओपनको सेमिफाइनलमा आएर टुगिएको छ ।

बिहिबार न्युयोर्कमा भएको सेमिफाइनलमा सेरेना रुसकी भिक्टोरिया आजारेंकासँग हार्न पुगिन । पहिलो सेट १–६ ले गुमाएकी आजारेंकाले उत्कृष्ट पुनरागमन गर्दै ६–३, ६–३ को जित निकाल्दै फाइनल प्रवेश गरिन् । तेश्रो सेटमा कुर्कुच्चाको चोटका कारण सेरेनाले उपचार गर्नु परेको थियो ।

तेश्रो सेटमा १–० ले पछि रहदा उनी घाइते भएकी थिइन् । सिजनको सबैभन्दा सशक्त खेल देखाउने क्रममा सेरेनाले पहिलो सेट आरामले जितेपछि त्यसपछि भने आजारेंका हावी भएकी थिइन् ।

२०१२ र २०१३ की अष्ट्रेलियन ओपन बिजेता आजारेंकाले अब फाइनलमा जापानी नाओमी ओसाकासँग खेल्नेछिन् । २०१८ कि युएस ओपन बिजेता ओसाकाले यसअघिको पहिलो सेमिफाइनलमा अर्की अमेरिकन खेलाडी जेनिफर ब्राडीलाई ७–६ (१), ३–६, ६–३ ले हराएकी थिइन् । प्रतियोगितामा दुवै खेलाडी उत्कृष्ट लयमा देखिएका थिए ।

२०१८ को विम्बल्डन र २०१९ को युएस ओपन फाइनलमा पनि पराजित भएकी सेरेना आमा भएर कोर्टमा फर्किए यता उपाधि बिहिन रहेकी छिन् । उपाधि जितेको खण्डमा सेरेनाले मार्गरेट कोर्टको २४ ग्राण्ड स्ल्यामको किर्तिमान बराबरी गर्ने थिइन् ।

दुई हप्तापछि ३९ बर्षकी हुने सेरेना ओपन एरामा ग्राण्ड स्ल्याम उपाधि जित्ने चौथो आमा पनि बन्ने थिइन् । अब त्यो अवसर पुर्व बिश्व नम्बर एक आजारेंकालाई प्राप्त भएको छ । मार्गरेट कोर्ट, इभोने गुलागँग र किम क्लाइस्टर्सले आमा बनिसकेपछि ग्राण्ड स्लयाम जित्ने महिलाहरुको किर्तिमान कायम राखेका छन् ।

सेरेनाले अब आफ्नो दुवै किर्तिमानका लागि फ्रेञ्च ओपनको क्ले कोर्टलाई कुर्नु पर्ने भएको छ । कोरोना महामारी कम हुदै जादा प्रत्येक दिन फ्रेञ्च ओपनले ११ हजार ५ सय दर्शकलाई प्रवेश दिने घोषणा गर्दा खेलाडीको सुरक्षामा प्रश्न उठाएकी सेरेनाले शुक्रबार भने आफू फ्रेञ्च ओपनमा खेल्ने सार्वजकि गरेकी थिइन् ।

फ्रेञ्च ओपन पनि दुई हप्तापछि शुरु हुन गइरहेको छ ।

Click to comment

Trending