अन्तर्राष्ट्रिय

एक खेल अगावै इंग्ल्यान्डलाई अस्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला 

Published

on

घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै अस्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । दोश्रो ट्वान्टी ट्वान्टी खेलमा छ विकेटको जित हात पार्दै इंग्ल्यान्ड तीन खेलको शृंखलामा २-० ले अघि रहेको हो । पहिलो ट्वान्टी ट्वान्टी खेलमा इंग्ल्यान्डले दुई रनको रोमान्चक जित हात पारेको थियो ।

जितका लागि १५८ रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानी सहज जित हात पारेको हो ।

इंग्ल्यान्डले पनि आज खराब सुरुवात गर्यो । १९ रनको अवस्थामा पहिलो विकेट गुमएको इंग्ल्यान्डको लागि बटलर र मालानले दोश्रो विकेटका लागि १० दशमलब तीन ओभरमा ८७ रन जोड्दै जितको आधार तयार पारे । मालान ३२ बलमा ४२ रन बनाएर एस्टन अगरको बलमा आउट हुन पुगे ।

मालानको विकेट गुमाए पछि इंग्ल्यान्डले दुई रन बनाएका टम बान्टन, सात रन बनाएका कप्तान ओईन मर्गनलाई गुमाएर केहि दबाबमा आए पनि बटलरले ५४ बलमा आठ चौका र दुई छक्काको मद्धत ७७ जोड्दै इंग्ल्यान्डलाई जित दिलाए । त्यस्तै मोइन अलीले पन छ बलमा अविजित १३ रन जोडे ।

अस्ट्रेलियाका एस्टन अगरले सर्वाधिक दुई विकेट हात पारे ।

यस अघि खराब सुरुवात गरे पनि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १५७ रनको अवस्था सम्म पुर्याउन सक्यो ।

ओपनर डेभिड वार्नर पहिलो ओभरको तेश्रो बलमा नै शुन्य रन बनाएको अवस्थामा जोफ्रा आर्चरको बलमा विकेट किपर जस बटलरको हातबाट क्याच आउट हुन पुगे । दोश्रो ओभरको पाँचौं बलमा दुई रन बनाएका एलेक्स केरी मार्क उडको शिकार भए ।

ओपनिङमा आएका कप्तान आरोन फ़िञ्चले तेश्रो विकेटका लागि स्टिभ स्मिथसँग मिलेर २७ रन जोड्दै अस्ट्रेलियाको पारी सम्हाल्ने प्रायस गरे । तर स्मिथ पनि १० रन बनाएको अवस्थामा रन आउट हुन पुगे ।

त्यस पछि ब्याटिङमा आएका मार्कस स्टोइनिससँग मिलेर कप्तान फ़िञ्चले चौथों विकेटका लागि ४९ रन जोडे । १० रनको अन्तरालमा ३३ बलमा ४० रन बनाएका फ़िञ्च मार्क उड र २६ बलमा ३५ रन जोडेका स्टोइनिस आदिल रशिदको बलमा आउट भए पछि अस्ट्रेलियाले १२ दशमलब छ ओभरमा ८९ रनमा पाँच विकेट गुमाएर दबाबमा आयो ।

ग्लेन म्याक्सवेल पनि १८ बलमा २५ रन जोडेर आउट भए भने एस्टन अगर र प्याट कमिन्स क्रमश २३ र अविजित १३ रनको पारी खेले ।

इंग्ल्यान्डका क्रिस जोर्डनले महँगो साबित भए पनि सर्वाधिक दुई विकेट लिए भने जोफ्रा आर्चर, मार्क उड र आडिल रशिदले पनि आफ्नो नाममा समान १-१ दर्ता गराए ।

Click to comment

Trending