Headline

ह्याभर्ट्जको अनुबन्धनसँगै चेल्सीले स्पष्ट पारेको आक्रमक आशय

Published

on

इङ्गलिस प्रिमियर लिग च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटीलाई टक्कर दिने लक्ष्य लिएको चेल्सीले जर्मन मिडफिल्डर काई ह्याभर्ट्जलाई अनुबन्धन गरेसँगै नया सिजनमा झण्डै २ सय मिलियन पाउण्ड खर्च गर्दै आफ्नो आशयलाई स्पष्ट पारेको छ ।

बुन्डेसलिगा क्लब बायर लेभरकुसनबाट स्ट्याफोर्ड ब्रिज आएका ह्याभर्ट्जका लागि चेल्सीले मिडिया रिपोर्ट अनुसार ७१ मिलियन पाउण्ड खर्चेको छ । फर्वार्डको रुपमा पनि खेल्न सक्षम एट्याकिङ्ग फर्वार्ड ह्याभर्ट्ज पुर्व क्लब लेजेण्ड तथा व्यवस्थापक फ्रांक लाम्पार्डको दोश्रो सिजनमा जर्मनीकै टिमो वेर्नर, हकिम जियेच, बेन चिल्वेल र ब्राजिलियन थियागो सिल्भासँगै पाचौं अनुबन्धन हुन् ।

चेल्सीले गत सिजन च्याम्पियन लिभरपुलभन्दा ३३ अंक पछाडी चौथो स्थानमा प्रिमियर लिग सक्काएको थियो ।

“चेल्सी आउन पाउदा मलाई निकै खुशी र गर्व महसुस भएको छ । यति ठूलो क्लबको लागि खेल्न पाउदा मेरो सपना पुरा भएको जस्तो हो । म खेलाडीहरुलाई भेट्न र प्रशिक्षण गर्न निकै उत्सुक छु,” ह्यभर्ट्जले क्लबको आधिकारिक वेबसाइटलाई शुक्रबार भनेका छन् ।

ह्याभर्ट्जले जर्मनीबाट चेल्सी आउने सबैभन्दा महँगा फुटबलरको छोटो किर्तिमान तोड्ने क्रममा वेर्नरलाई पछि पारेका हुन् । वेर्नर अर्को बुन्डेसलिगा क्लब आरबी लाइपजिगबाट जुन ५३ मिलियन युरोमा स्ट्याफोर्ड ब्रिज आएका थिए ।

ह्याभर्ट्जसँगै अर्का जर्मन खेलाडी टिमो वेर्नर (दाया) पनि चेल्सीको लागि महत्वपूर्ण अनुबन्धन हुन्

लेभरकुसनको लागि १७ बर्षको उमेरमा खेल्दै क्लब इतिहासमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका ह्याभर्ट्जले वेर्नरलाई नै पछि पार्ने क्रममा बुन्डेसलिगामा सबैभन्दा कम उमेरमा ५० र १ सय खेल खेल्ने खेलाडी पनि भएका थिए । गत सिजन १८ गोल सहित ह्याभर्ट्जले लेभरकुसनका लागि १५० खेलमा ४६ गोल गरेका थिए ।

ह्याभर्ट्जको उत्कृष्ट प्रदर्शनका बावजुद बुन्डेसलिगामा पाचौं हुन पुग्दा लेभरकुसनले च्याम्पियन्स लिगमा छनोट हुने मौका गुमाएको थियो । युरोपा लिगमा पनि जर्मन क्लब क्वार्टर–फाइनलबाट बाहिरिएको थियो ।

च्याम्पियन्स लिग खेल्ने क्लबको खोजीमा रहेका ह्यभार्ट्जलाई भित्र्याउन चेल्सीले निकै तिब्र रुपमा काम अघि बढाएको थियो । प्रिमियर लिग र च्याम्पियन्स लिगमा दवाब बन्दै गर्दा पनि चेल्सीले ह्याभर्ट्जलाई भित्र्याउन बिशेष ध्यान दिएको थियो ।

“उनी बिशेष छन्, माइकल बालाक र मेसुट ओजिलको हाइब्रिड जस्ता,” पुर्व म्यानचेस्ट युनाइटेड र बायर्न म्युनिख मिडफिल्डर ओवेन हाग्र्रिभ्स भन्छन् । “उनले गरेका गोलहरु र खेल्ने शैलिले धेरै कुरा भन्छ । उनी एक सुपर खेलाडी हुन् ।”

स्ट्यामफोर्ड ब्रिजमा एक सेल्फी त हान्नै पर्यो …

युरोपकै सबैभन्दा राम्रो भविष्य रहेका ह्याभर्ट्जबाट धेरै अपेक्षा गरिएको छ भने कोरोना भाइरसको प्रभावका कारण खरिदकर्ताको बजार भएको स्थितिको फाइदा चेल्सीले उठाइरहेको छ । कोरोनाका कारण आर्थिक संकटमा परेका क्लबहरुले यो सिजन महत्वपूर्ण खेलाडीहरु पनि सस्तोमा बेच्न सक्ने प्रक्षेपण गरिएको छ । त्यसमाथि अघिल्लो सिजन चेल्सीलाई ट्रान्सफर ब्यान लागेको कारण लाम्पार्डले खेलाडी किन्न सकिरहेका थिएनन् ।

नियमित गोलकिपर केपा अरिजाबालागाको खस्कदो प्रदर्शनको कारण चेल्सीले अझै पैसा खर्च गर्ने देखिएको छ । गोलकिपरका लागि बिश्व किर्तीमानी ७२ मिलियन पाउण्डमा चेल्सी आएका केपाले गत सिजन दुई पटक दोश्रो रोजाईका विली काबालेरोलाई स्थान गुमाएको थिए ।

Click to comment

Trending