Headline

मेस्सी बार्सिलोनामै बसेको हेर्न चाहन्छन् चिर प्रतिद्वन्दी रामोस

Published

on

लियोनेल मेस्सीको एजेन्ट समेत रहेका उनका बुवा होर्गेले बार्सिलोनाबाट सहज रुपमा रिलिज हुने उपाय खोजिरहदा प्रतिद्वन्दी क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले अर्जेन्टाइन स्ट्राइकर क्याम्प नोउमै रहेको हेर्न चाहेका छन् ।

मेस्सीले क्लब छोड्ने बताएसँगै उनका बाबुले बुधवार क्याटलोनियामा क्लबका अधिकारीहरूसँग भेट्दै आफ्नो छोरालाई बार्सिलोनामा बस्न अब गार्हो भएको बताएका थिए । मेस्सीका बाबु र क्लबबीच पुरै दिन छलफल चलेको थियो । स्थानीय सञ्चार माध्यमले दुई पक्ष कुनै पनि सम्झौतामा पुग्न असमर्थ भएको दाबी गरेको थियो ।

मेस्सीले बार्सिलोनासँगको सम्झौतामा २०१९–२० को सिजनको अन्त्यमा फ्री ट्रान्सफरमा क्लब छोड्न मिल्ने लेखिए पनि क्लबले भने यो कुरामा सहमती गरेको छैन । खेलाडी र उनको पक्षले भने कोरोना भाईरसका कारण जुनमा सकिनु पर्ने सिजन अगस्टमा लम्बिएका कारण यो सम्झौता अझै वैध रहेको बताउदै आएको छ ।

तर बर्सिलोनाले भने ला लिगाको समर्थन लिदै यो सम्झौता जुनमा नै सकिएको बताएको छ । धेरै सञ्चार माध्यमहरुको अनुसार पनि वुधबारको बैठकले यही निर्णय लिने र लगत्तै मेस्सी म्यानचेस्टर सिटी जाने तयारीमा रहेको बताएको थियो ।

स्पेनी टोलीसँग नेसन्स कपको तयारीमा लागि रहदा गरिएको एक प्रश्नमा रामोसले मेस्सी बर्सिलोनामै बसेको हेर्न चाहेको बताए । “यो म्याड्रिडको लागि चिन्ताको विषय होइन । तर उनले आफ्नो भविष्यको निर्णय गर्ने अधिकार पाउनु पर्छ,” रामोसले भने ।

“मलाई थाहा छैन उनले राम्रोसँग प्रदर्शन गरिरहेको छन् कि छैनन् तर पक्कै पनि स्पेनिस फुटबल, बार्सिलोना र हामी म्याड्रिडको लागि मेस्सी यही बसेको हेर्न चाहन्छौ,” उनले थपे । “यसले ला लिगा र उनको टोलीलाई अझ राम्रो बनाउँछ र एल क्लासिकोलाई अझ सुन्दर बनाउने छ । हामीले के हुनेछ हेर्ने मात्र हो । र हाम्रो लागि यो चिन्ताजनक समाचार पनि होइन” रामोसले भने ।

Click to comment

Trending