Headline

सेभियाले राकिटिचलाई बार्सिलोनाबाट फर्कायो

Published

on

युरोपा लिगको ६ पटकको बिजेता सेभियाले बार्सिलोना मिडफिल्डर इभान राकिटिचलाई चार बर्षको सम्झौतामा भित्र्याएको छ ।

३२ बर्षिय क्रोएशियन फुटबलर राकिटिच बार्सिलोना सम्हाल्न आइपुगेका नयाँ प्रशिक्षक रोनाल्ड कोमनले आफ्नो योजनामा नराखेका खेलाडीहरुको सुचिमा राखेका थिए । सन् २०१४ मा बार्सिलोना जानु अघि राकिटिचले सेभियामै चार बर्ष बिताएका थिए । उनले बार्साका लागि झण्डै २ सय खेल खेलेका थिए ।

बार्सिलोना जानुअघि राकिटिचले उत्कृष्ट प्रदर्शन गर्दा सेभियाले २०१४ को युरोपा लिगको उपाधि जितेको थियो । राकिटिचले सेभियाका लागि १ सय ४९ खेलमा ३२ गोल गर्दै ४१ असिस्ट दिइसकेका छन् ।

क्रोएशियाको लागि १ सय खेलभन्दा बढी खेलेका राकिटिचले आफ्नो देशको लागि २०१८ को बिश्वकप फाइनल पनि खेलेका छन् ।

बार्सिलोनामा सधैजसो शुरुवाती एघारमै स्थान बनाउदै आएपनि किके सेटियन जनवरीमा प्रशिक्षक भएयता उनले धेरै खेल्न पाएका थिएनन् । अघिल्लो सिजन डच मिडफिल्डर फ्रेंकी डी जोङ्गको आगमनपछि प्लेयिङ्ग टाइम गुमाएका राकिटिच बार्सामै बसेको भए उनले युभेन्टसबाट आएका मिरालेम पियानिचसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो । च्याम्पियन्स लिग क्वार्टर–फाइनलमा जर्मन महारथी बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद पराजय बेहोरेपछि बार्सिलोनाले आफ्नो टोलीको पुनसंरचना गर्ने प्रयासमा रहेको छ ।

अर्जेन्टिनी सुपर स्टार लियोनेल मेस्सीलाई क्लबमै राख्न कसरत गरिरहेको बार्सिलोनाका नयाँ प्रशिक्षक कोमनले राकिटिचसँगै लुईस सुवारेज, आर्टुरो भिडाल र स्यामुएल उम्टिटी पनि आफ्नो योजनामा नरहेको स्पष्ट पारिसकेका छन् ।

यसै सिजन छैटौं युरोपाको उपाधि जितेको सेभिया ला लिगामा चौथो हुदै च्याम्पियन्स लिगका लागि छनोट भएको टोली हो ।

Click to comment

Trending