Headline

मेस्सीलाई आफ्नै देश फर्कन अर्जेन्टिनी राष्ट्रपतिको आग्रह

Published

on

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई आफ्नै देश फर्कन आग्रह गरेका छन् । राष्ट्रपति फर्नान्डेजले मेस्सीलाई नेवेल्स ओल्ड बोइजका लागि खेल्दै त्यहि आफ्नो खेल जीवन अन्त्य गर्नका लागि पनि आग्रह गरेका छन् ।

३३ बर्षिय मेस्सीले २० बर्षे लामो बार्सासँगको सम्बन्ध तोड्ने भए पछि उनलाई आफ्नो क्लबमा आबद्ध गराउन म्यानचेस्टर सिटी सबैभन्दा अघि रहेको छ भने पिएसजीले पनि चासो देखाएको छ । त्यस्तै यस होडमा युभेन्टस पनि अघि बढेको समाचार पनि बाहिरिएको थियो ।

च्याम्पियन्स लिग क्वार्टर–फाइनलमा बायर्न म्युनिखसँग ८–२ को अपमानजनक हारपछि मेस्सी र क्लबबीच सम्बन्धमा अझै तिक्तता आएको थियो । यद्दपि सम्बन्ध भने अघिल्लो सिजनको मध्यतिर नै नराम्ररी बिग्रिसकेको थियो । यसअघि नै ६ पटकका बालन डि’ओर बिजेता मेस्सीले क्लब छोड्ने अड्कल बाजी पनि सुरु भएको थियो ।

बार्सासँग सन् २०२०–२१ सम्मको सम्झौता रहेको भए पनि मेस्सीले क्लब छोड्ने स्पष्ट पार्दा अन्तर्राष्ट्रिय फुटबलमै ठूलो भुकम्प गएको छ ।

केहि दिन अघि मात्र मेस्सीले सानो छँदा प्रतिनिधित्व गरेका क्लब नेवेल्स ओल्ड बोइजकासमर्थकले मेस्सीलाई क्लबमा आउन आग्रह गर्दै रोसारियोको सडकमा परेड पनि निकालेका थिए । अब समर्थकलाई पछ्याउँदै राष्ट्रपति फर्नान्डेजले अहिले नभए पनि भविष्यमा मेस्सीलाई अर्जेन्टिनाको लिगमा हेर्न चाहेको धारणा राखेका हुन् ।

“तिमी हाम्रो मुटुमा छौ । हामीले तिमीले अर्जेन्टिनाका लागि पनि खेलेको हेरेका छौ । तिम्रो खेल जीवन नेवेल्स ओल्ड बोइजमा अन्त्य भएको हेर्ने खुशी पनि देउ,” फर्नान्डेजले मेस्सीलाई नै लेखेर पठाएको सन्देशमा भनेका छन् ।

Click to comment

Trending