अन्तर्राष्ट्रिय

क्रलीको पहिलो टेस्ट शतकमा इंग्ल्यान्ड विशाल योगफल तर्फ

Published

on

ज्याक क्रलीको डेढ सय रन तथा जस बटलरको अर्धशतकको मद्धतमा तेश्रो टेस्टको पहिलो दिन घरेलु टोली इंग्ल्यान्ड पाकिस्तान विरुद्ध विशाल योगफल तर्फ अग्रसर भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेलको समाप्तीमा ९० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३३२ रन बनाएको छ ।

खराब सुरुवात गरेको इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा क्रली र बटलरले अविजित रहँदै क्रमश १७१ तथा ८७ रन बनाएका छन् । १२७ रनको अवस्थामा चार विकेट गुमाएको इंग्ल्यान्डको लागि दुईले अविजित २०५ रनको साझेदारी गरिसकेका छन् । टेस्टमा आफ्नो पहिलो शतक प्रहार गरेका क्रलीले २६९ बलको सामना गर्दै १९ चौका तथा बटलरले १४८ बलमा नौं चौका र दुई छक्का प्रहार गरे ।

छ रन बनाएका ओपनर रोरी बर्न्सलाई शाहिन शाह अफ्रिदीले आउट पार्दै पाकिस्तानको लागि राम्रो सुरुवात दिएका थिए । त्यस पछि अर्का ओपनर डोम सिब्ली (२२ रन) र ओली पप (तीन रन) को विकेट याशिर शाह तथा २९ रन बनाएका कप्तान जो रुटको नसिम शाहको शिकार भए पछि इंग्ल्यान्डले खराब सुरुवात गर्यो ।

सुरुवातमा नै पाकिस्तानका याशिरले दुई तथा अफ्रिदी र नसिमले १-१ विकेट हात पारे पनि इंग्ल्यान्ड विशाल योगफल तर्फ लम्केको हो ।

तीन टेस्ट म्याचको शृंखलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोश्रो टेस्टमा बर्षा बाधक हुँदा खेल बराबरीमा सकिएको थियो ।

Click to comment

Trending