Headline

युरोपा लिग फाइनलः ९ बर्षमा पहिलो उपाधिको खोजिमा इन्टर मिलान

Published

on

यो सिजन च्याम्पियन्स लिगमा समुह चरणबाटै बाहिरिएको इन्टर मिलान युरोपा लिग खेल्दै फाइनल पुगेपछि एन्टोनियो कोन्टेले ‘ग्लास आधा पुरा’ भएको बताएका थिए ।

समुह एफमा बार्सिलोना र डर्टमण्डको पछाडी तेश्रो स्थानमा सक्काएको इन्टर शुक्रबारको फाइनलमा युरोपाको राजा मानिएको स्पेनिस टोली सेभियासँग खेलिरहेको छ । १९७२ मा प्रतियोगिता शुरु भएयता सेभियाले पाँच पटक युरोपा लिगको उपाधि जितिसकेको छ ।

सेभियालाई अर्को उपाधिको बिशेष महत्व राख्ला तर इन्टरलाई सबेभन्दा बढी उपाधिको आवश्यकता छ । इन्टर ९ बर्षमा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । सेभियाका जुलेन लोपेतेगीले भने प्रशिक्षकको रुपमा उपाधि जित्न बाकी नै रहेको छ ।

“यो सिजन हाम्रो लागि निकै सकारत्मक रहन पुग्यो । हामीले महत्वपूर्ण कामहरु गर्दै प्रमुख सुधार गरेका छौं । च्याम्पियन्स लिगको समुह चरण पार गर्न नसक्नुको निराशाका बावजुद हामी युरोपा लिगको फाइनल पुग्न सफल भएका छौं,” कोन्टेले भने ।

“च्याम्पियन्स लिगबाट बाहिरिएपछि नै हामीले सफल यात्रा तय गरेका छौं । च्याम्पियन्स लिगमा शायद यहासम्म आइपुग्ने थिएनौं । निकै युवा र अनुभवको कमि रहेको हाम्रो टोलीका लागि यो राम्रो कुरा हो,” उनले थपे ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि इन्टरले युरोपामा भने पाँच वटै खेल जितेको छ । यस क्रममा सेमिफाइनलमा उसले युक्रेनी क्लब सख्तर दोनेस्कलाई ५–० को फराकिलो अन्तरले हराएको थियो ।

सेभियाका विङ्गर लुकास ओक्याम्पोस र इन्टर फर्वार्ड एलेक्सिस साञ्चेज दुवै चोटका कारण फाइनल खेल्ने सम्भावना निकै कम छ । तीन पटकको युएफा कप (यसअघि युरोपा लिगको नाम) बिजेता इन्टर यो सिजन इटालियन सिरी आ मा दोश्रो भएको थियो । यो उनीहरुको २०११ यता कै उत्कृष्ट प्रदर्शन हो । इन्टरको पछिल्लो उपाधि २०११ कै कोपा इटालिया हो ।

अघिल्लो सिजनमात्रै इन्टरको टिम सम्हालेका कोन्टेले म्यानचेस्ट युनाइटेडबाट रोमेलु लुकाकुसहित पाँच खेलाडी इङ्गलिस प्रिमियर लिगबाट भित्र्याएका थिए । यो सिजन ३३ गोल गरेका लुकाकुले लगातार १० युरोपा लिगका खेलहरुमा गोल गर्ने किर्तिमान समेत कायम गरेका छन् ।

“फाइनल निकै प्रतिस्पर्धात्मक हुनेछ । पछिल्लो १० बर्षमा पाँच पटक उपाधि जितेको निकै अनुभवी टोलीबिरुद्ध हामी खेल्न गइरहेका छौं । हामीले आफ्नो फोकस नगुमाउदै सधै जसरी उत्साह र साहसका साथ फाइनल खेल्न आवश्यक छ । फाइनलमा सधै दुई उत्कृष्ट टिम नै हुन्छन् त्यसैले हाम्रो केटाहरुलाई खेल समाप्तिपछि हामीलाई कुनै पश्चाताप नभएको भन्न सक्नु पर्छ,” पुर्व चेल्सी व्यवस्थापक कोन्टेले भने ।

सेभिया फाइनलमा एक पटक पनि नहारेको टोली हो । कोन्टे जसरी नै लोपेतेगी पनि पहिलो पटक क्लबको जिम्मेवारी सम्हालिरहेका छन् । यसअघि रायो भालेकानो, एफसी पार्टो, स्पेन र रियल म्याड्रिडको प्रशिक्षक रहिसकेका उनले प्रशिक्षकको रुपमा उपाधि अहिलेसम्म जितेका छैनन् ।

फेब्रुवरी ९ यता सेभिया क्लब इतिहासकै लामो अपराजित यात्रामा रहेको छ । यस दौरान खेलिएका २० खेलमा सेभियाले ११ मा जित हात पारेको छ भने ९ मा बराबरी गरेको छ । उसले पछिल्लो दुई खेलमा युरोपाकै क्वार्टर–फाइनल र सेमिफाइनलमा क्रमशः इङ्गलिस प्रिमियर लिग क्लब उल्भ्स र म्यानचेस्ट युनाइटेडलाई हराएको थियो ।

Click to comment

Trending