Headline

सबैभन्दा कठिन जागिर सम्हाल्न फर्किएका बार्सा लेजेण्ड

Published

on

“कोमन, वेम्ब्लीका हिरो, फर्किएका छन्,” बार्सिलानोका अध्यक्ष योसेप मारिया बार्तोमुले रोनाल्ड कोमन नयाँ प्रशिक्षक हुने घोषणा गरेको भोलिपल्टै क्याटलन क्लबले रवाफका साथ उनको नाममा एक बिज्ञप्ति जारी गर्यो ।

यस्तो महसुस हुन्छ की बार्सिलोनाले बायर्न म्युनिखबिरुद्ध शुक्रबार च्याम्पियन्स लिगमा भोगेको लज्जास्पद पराजयलाई कोमनको नियुक्तिले नै बिर्साउने प्रयास गरेको छ । किके सेटियनलाई बर्खास्त गरेपछि ५७ बर्षिय कोमन बार्साको टोली सम्हाल्ने पाचौं डच प्रशिक्षक हुन गइरहेका छन् ।

यसअघि राइनस मिकेल्स, योहान क्रुएफ, लुई भान हाल र फ्रांक राइकार्डले बार्सिलोनाको टोली सम्हालेका थिए । डच प्रशिक्षकको नियुक्त नौलो त होइन तर बार्सा अहिले यस्तो स्थितिमा छ जहाँ असन्तुष्ट खेलाडीहरुको माग सम्बोधन गर्नका लागि उसले कोमनको आगमनलाई पनि महान बनाइरहेको छ ।

“खेलाडीको रुपमा आएको ३० बर्षपछि पहिलो युरोपियन कप उपाधि जिताउनलाई महत्वपूर्ण भुमिका निभाएका कोमन फेरि क्लबमा फर्किएका छन् । बार्सा लेजेण्डको पुनरागमन,” बार्सिलोनाले बिज्ञप्तिमा लेखेको छ ।

के कोमन साच्चिकै महान हुन् त ?

मे २०, १९९२ मा बार्सा युरोपियन कपको फाइनलमा इटालियन क्लब साम्पडोरियाबिरुद्ध खेलिरहेको थियो । लण्डनको वेम्ब्ली स्टेडियममा निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिन पुग्यो । अतिरिक्त समयमा कोमनले नै गोल गर्दा बार्साले पहिलो पटक युरोपियन कपको उपाधि जितेको थियो ।

खेलाडीको रुपमा कोमन १९८९ मा बार्सिलोना आइपुगेका थिए । उनी त्यो समय डिएगो म्याराडोनापछि क्लब फुटबल इतिहासकै दोश्रा महँगा खेलाडी बनेका थिए । युरोपमा प्रख्यात र कुख्यात दुवै बनेका म्याराडोना लाजियोबाट खेल्ने गर्दथे ।

बार्सामा ६ सिजन पुरा गर्दा कोमनले २ सय ६४ खेल खेल्दै ८८ गोल गरेका थिए भने क्रुएफको ड्रिम टिमको हिस्सा बन्दै १९९१ देखि १९९४ सम्म लगातार चार पटक ला लिगा जित्न सफल भएका थिए ।

चरम संकटको समयमा बार्सिलोना आइपुगेका कोमनले प्रशिक्षण करिअरमा औषत प्रदर्शन गरेका छन् । बार्सा २००७ पछि पहिलो पटक उपाधि बिहिन हुन पुगेको छ । मङ्गलवार नै बार्साले आफ्नो स्पोर्टिङ्ग डाइरेक्टरलाई पनि बर्खास्त गरेको थियो । बायर्नसँगको लज्जास्पद हार र बोर्ड भित्रको मदभेदको मुल्य अबिडालले पनि चुकाएका छन् ।
बुधबार नै रामोन प्लेन्सले अबिडालको स्थान लिएका थिए । बार्सा आउने क्रममा कोमनले आफ्ना सहायक ड्वाइट लोडवेजेसलाई स्थान छोडेका छन् । नेदरल्याण्ड्सको फुटबल संघले अब कोमनको स्थानमा नयाँ प्रशिक्षक खोज्नु पर्नेछ । युएफा नेसन्स लिग अन्गर्तत नेदरल्याण्ड्सले सेप्टेम्बर ४ मा पोल्याण्ड र त्यसको तीन दिनपछि इटालीको सामना गरिरहेको छ ।

तर कोमनलाई अब शायद दुनियाकै सबैभन्दा गाह्रो काम परेको छ । उनले यस्तो क्लबको व्यवस्थापन गर्नुपर्नेछ जहाँ खेलाडी रुष्ट छन् र बोर्डमा राजनीति । र मैदानको प्रदर्शन शुन्य । अहिले बार्सा मात्र नभएर बिश्वकै महान खेलाडी लियोनल मेस्सी समेत क्लब छोड्ने मनसायमा पुगिसकेका छन् ।

स्पष्ट छ, मेस्सीले क्लब छोड्ने हो भने बार्सामा ठूलो भुकम्प आउनेछ भने अन्य खेलाडीहरुले पनि क्लब छोड्न सक्नेछन् । त्यसपछि बार्सालाई युवा खेलाडीहरु बटुल्दै टिम पुर्ननिर्माण गर्ने जिम्मा कोमनकै थाप्लोमा आउनेछ । खेलाडीको रुपमा महान बनिसकेका कोमनले क्लबलाई अहिलेको स्थितिबाट उकास्ने हो भने प्रशिक्षकको रुपमा पनि महान बन्ने अवसर पाउनेछन् ।

“सबैलाई थाहा छ बार्सिलोना मेरो लागि ड्रिम क्लब हो भनेर । बार्साको व्यवस्थापक बन्नु मेरो लागि बिशेष छ,” कोमनले आफ्नो नियुक्तिपछि भने ।

Click to comment

Trending