Headline

दुवै किड्नी फेल भएका कुन्दनले कोरोना भाइरसलाई जिते

Published

on

दुवै किड्नी फेल भएर उपचार गराइरेहका प्रदेश २ क्रिकेटर कुन्दन सिँहले कोरोना भाइरसबिरुद्धको लडाइ जितेका छन् ।

जनकपुर क्षेत्रीय अस्पतालमा डायलसिस गराइरहेका कुन्दनलाई केही दिन अघि कोरोना भाइरस पोजिटिभ देखिएको थियो । कोरोना देखिएपछि उनलाई धरानस्थिति बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइएको थियो ।

उनी धरान हस्पिटलबाट डिस्चार्ज भएको स्वयं कुन्दनले बताएका छन् । “मलाई कुनै पनि लक्षण देखिएको थिएन तर पिसिआर टेस्टमा कोरोना देखिएको रहेछ । डक्टरहरुले पनि मलाई कोरोना मुक्त भइसकेको जानकारी दिनुभयो । अहिले म घर आइसकेको छु,” कुन्दनले भने ।

९ महिना अगाडी आफ्ना आमा बुवा गुमाएका कुन्दन मामाघरमा बस्ने गरेका छन् । जनकपुर क्षेत्रीय अस्पतालको भ्रमण उनको अहिले दैनिकी बन्न थालेको छ । पुरानै स्थितिमा फर्कनका लागि कुन्दनलाई किड्नी डोनरको आवश्यकता रहेको छ जुन उनले अहिलेसम्म पाउन सकेका छैनन् ।

कुन्दनले २०१८ मा प्रधानमन्त्री कपमा जनकपुरबाट खेलेका थिए । उनी ओपनिङ ब्याट्स्म्यान हुन् । उनको उपचारका लागि बिभिन्न अभियन्ताहरुले कोष समेत स्थापना गरेका छन् ।

व्यक्तिगत र संस्थागत रुपमा उक्त कोषमा अहिलेसम्म झण्डै ११ लाख रुपैया उठिसकेको छ । कुन्दनलाई आवश्यक रहेको किड्नी प्रत्यारोपणको लागि १५ देखि २० लाख रुपैया आवश्यक रहेको, उनको लागि रकम जुटाइरहेका एक अभियन्ता बिज्ञान कार्कीले बताए ।

कार्कीले खडा गरेको कोषमा मात्रै तीन लाख जम्मा भएको छ भने कुन्दन कोरोना मुक्त भएपछि उनले रकम संकलन कार्य बन्द गरेका थिए । कार्कीले अब यो कार्यलाई फेरि निरन्तरता दिन पनि बताए ।

Click to comment

Trending