Headline

धोनीको सम्झनलायक ५ उत्कृष्ट इनिङ्गस

Published

on

भारतका २०११ बिश्वकप बिजेता कप्तान महेन्द्र सिँह धोनीले शनिबार सन्यास घोषणा गर्दा भारतमा एक युगको अन्त्य भएको छ । धोनी भारतमात्र नभएर बिश्व क्रिकेटकै सफल कप्तानमा गनिन्छन् । उनले भारतलाई च्याम्पियन्स ट्रफि र ट्वान्टी ट्वान्टी बिश्वकप पनि जिताएका थिए ।

आईसिसिको सबै प्रमुख उपाधिहरु जित्ने धोनी बिश्व क्रिकेटमै एक मात्र कप्तान हुन् । धोनीले आफ्नो डेढ दशक लामो करिअरमा ५० दशमलव ५८ को औषतमा १० हजार भन्दा बढी रन बनाएका छन् । विकेटकिपरको रुपमा उनका ४ सय ४४ शिकार सर्वाधिक तेश्रो हो भने १ सय २३ स्टम्पिङ्ग बिश्व रेकर्डको रुपमै रहेको छ । धोनीले आफ्नो करिअरमा धेरै सम्झनलायक इनिङ्गसहरु खेलेका छन् । हेरौ ती मध्ये उत्कृष्ट पाँचः

१. श्रीलंकाबिरुद्ध १ सय ८३ नटआउट

अक्टोबर ३१, २००५ मा धोनीले खेलेको यो इनिङ्गस उनको करिअरको शुरुवाती दिनहरुमा आएको थियो । लगातार खराब शुरुवात गरेपछि पाकिस्तानबिरुद्ध १ सय ४८ रन उनको सर्वाधिक ठूलो योगफल थियो । श्रीलंकाबिरुद्धको तेश्रो एकदिवसीयमा जे हुन गइरहेको थियो त्यसले उनलाई सधैका लागि भारतीय क्रिकेटको पानामा अमर बनाउन पुग्यो ।

धोनीलाई पहिलो एकदिवसीयमा भारतीय टोलीलले छैटौं नम्बरमा ब्याटिङ्ग गराउदा उनले ३८ रन बनाएका थिए । दोश्रो खेलमा उनले ब्याटिङ्ग गर्न पाएनन् भने तेश्रोमा श्रीलंकाले पहिलो ब्याटिङ्ग गर्दै चार विकेटको क्षतिमा २ सय ९८ रन बनायो । भारतले इनिङ्गको शुरुवातमै सचिन तेन्दुल्करलाई गुमाएपछि धोनी तेश्रो नम्बरमा ब्याटिङ्ग गर्न आएका थिए । अन्य ब्याट्स्म्यानहरुले ४० रन पनि बनाउन नसक्दा धोनी एक्लैले श्रीलंकाको आक्रमणलाई ध्वस्त पारेका थिए ।

उनले १ सय ४५ बलमा १ सय ८३ नटआउट बनाए जुन उनको करिअरको सर्वाधिक ठूलो योगफल हो । विकेट किपर ब्याट्स्म्यानको रुपमा पनि धोनीले नयाँ बिश्व किर्तिमान कायम गरेका थिए । धोनीको बिशाल योगफलको मद्दतमा भारतले २३ बल अघि नै खेल जितेको थियो । धोनीको इनिङ्गसमा १५ चौका र १० छक्का सामेल थियो ।

२. पाकिस्तानबिरुद्ध ४६ बलमा ७२ रन

लामो समयपछि भारत र पाकिस्तान एक अर्का बिरुद्ध भिडिरहेका थिए । पाकिस्तानमा टेस्ट श्रृंखला १–० ले गुमाएपछि भारतीय टोलीमा एकदिवसीयमा पनि हारको डर थियो । लाहोरमा आउनु पुर्व पाँच म्याचको एकदिवसीय श्रंखला १–१ को बराबरी थियो । फेबु्रवरी १३, २००६ को दिन पाकिस्तानले भारतलाई जितका लागि २ सय ८९ रनको लक्ष्य दियो ।

१५ ओभरमा मात्र बाकी रहदा १ सय रन भन्दा बढी आवश्यकता रहेको स्थितिमा धोनी युवराज सिँहलाई साथ दिनका लागि सातौं नम्बरमा ब्याटिङ्गका लागि उत्रिए । गद्दाफी स्टेडियममा धोनीले निकै आक्रमक ब्याटिङ्ग गर्दै ४६ बलमै ७२ रन ठोके । भारतले १४ बल बाकी हुदै खेल जित्यो । म्याच जितएपछि तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफले पनि धोनीको मैदानमा उत्रेर नै खुलेर तारिफ गरेका थिए ।

धोनी र युवराजले निर्णायक एकदिवसीयमा पनि उत्कृष्ट साझेदारी गरेपछि भारतले ३–२ ले श्रृंखला जितेको थियो । उनीहरुले अन्तिम एकदिवसीयमा तेश्रो विकेटका लागि १ सय ४६ रनको साझेदारी गर्दै भारतलाई जिताएका थिए । श्रृंखलामा २ सय १९ रन बनाउदै तीनमा नटआउट रहेपछि धोनीले आफ्नो स्थान सुरक्षित गरेका थिए ।

३. बिश्वकप फाइनलमा ९१ नटआउट

अप्रिल ३, २०११ मा धोनी भारतलाई दोश्रो पटक बिश्वकप जिताउने कप्तान बने । उनी भारतलाई एकदिवसीय बिश्वकपको फाइनल पुर्याउने तेश्रो कप्तान पनि हुन् । कपिल देवले भारतलाई १९८३ को बिश्वकप जिताएका थिए भने त्यसको दुई दशकपछि सौरभ गाँगुलीले टिमलाई दक्षिण अफ्रिकामा फाइनलसम्म डोर्याएका थिए ।

धोनीले बिश्वकप फाइनल अघि ८ म्याचमा जम्म १ सय ५० रन बनाएका थिए । माहेला जयावद्र्धनेले आकर्षक शतक पुरा गरेपछि श्रीलंकाले फाइनलमा भारतलाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गर्यो । बिश्वकप जितेको खण्डमा भारतको नाममा सर्वाधिक ठूलो योगफल पछ्याएको इतिहास पनि हुने थियो । र भयो त्यही ।

भारतले १ सय १४ रनमा तीन विकेट गुमाएको स्थितिमा धोनीले युवराजको ठाँउमा नम्बर पाँचमा ब्याटिङ्ग गर्न आउदै सबैलाई स्तब्ध बनाए । पहिलो गौतम गम्भिर र त्यसपछि युवराजसँग महत्वपूर्ण साझेदारी गर्दै धोनीले छक्काको मद्दतमा बिजयी रन प्रहार गर्दै भारतलाई २८ बर्षपछि बिश्वकप जिताए । फाइनलमा गौतम गम्भिरले ९७ रन बनाए तर खेललाई पूर्ण रुपमा नियन्त्रण गर्ने काम धोनीको ९१ रनले गरेको थियो ।

४. लर्ड्समा ७१ बलमा ७८

भारत सेप्टेम्बर, २०११ मा इङ्गल्याण्ड भ्रमण दौरान निकै नराम्रो खेलिरहेको थियो । टेस्ट सिरिज ४–० ले गुमाएको भारतले एकदिवसीय श्रंखला पनि गुमाएको थियो तर एक खेल भने बराबरीमा टुँगिएको थियो । क्रिकेटको मक्का मानिने लर्ड्समा भएको तेश्रो एकदिवसीयमा भारतले १ सय १० रनमै चार विकेट गुमाएको थियो ।

धोनीले त्यसपछि सुरेश रैनासँग १ सय ६९ रनको साझेदारी गर्दै भारतलाई २ सय ८० रनको योगफलसम्म डोर्याए । रवि बोपाराले ९६ रनको इनिङ्गस खेलेपछि इङ्गल्याण्डले बर्षाका कारण २ सय ७१ रनको लक्ष्य पाउदा बराबरी गरेको थियो । धोनीले उक्त श्रृंखलामा ७८ दशमलव ६६ को औषतमा २ सय ३६ रन बनाएका थिए ।

५. श्रीलंकालाई अर्को झड्का

२०१३ मा क्यारेबियनमा भएको त्रिकोणात्मक श्रृंखलामा भारत पहिलो दुई खेल हारेपछि कमब्याक गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनलमा श्रींलकालाई २ सय १ मै समेटेपनि भारत हारको नजिक पुगिसकेको थियो । अन्तिम तीन ओभर बाकी हुदा भारतले १ सय ८२ रनमा ९ विकेट गुमाइसकेको थियो ।

बलर इशान्त शर्माले विकेट बचाउनु पर्ने स्थिति हुदा खेल अन्तिम ओभरसम्मै पुगेको थियो । अन्तिम ओभरमा भारतलाई १५ रन चाहिएको थियो र धोनीले समिन्दा इराँगाबिरुद्ध पहिलो बलमा रन बटुल्न सकेका थिएनन् । त्यसपछि उनले दोश्रो र चौथोमा छक्का अनि तेश्रोमा चौका प्रहार गर्दै भारतलाई सनसनीपूर्ण जित दिलाएका थिए ।
क्विन्स पार्क ओभलको सुस्त पिचमा धोनीले ५२ बलमा ५४ रन बनाएका थिए तर उनले आफूलाई दिइएको फिनिसरको भुमिकालाई एकपटक फेरि उत्कृष्ट ढँगले न्याय दिएका थिए ।

Click to comment

Trending