Headline

एक मात्र ट्वान्टी ट्वान्टी खेल्ने पाँच लेजेण्ड

Published

on

पछिल्लो समय आम दर्शक र खेलाडीहरूको रोजाईमा टेस्ट र एकदिवसीय भन्दा ट्वान्टी ट्वान्टी क्रिकेट बढी पर्ने गरेको छ । झन् बिभिन्न देशमा आयोजना हुने फ्रान्चाइज ट्वान्टी ट्वान्टी लिगबाट प्राप्त गर्ने मोटो रकमका कारण पनि यसको आकर्षण बढ्दो छ ।

केही समय अघि सम्म पनि प्राय टेस्ट र एकदिवसीय खेलहरूलाई खेलाडीको स्तर मापन गर्ने मुख्य आधार मान्ने गरिन्थ्यो । त्यसैले पनि जब अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटको शुरुवात भयो धेरै लेजेण्डहरूले यो खेल कमै खेले । कतिपय खेलाडीले फ्रान्चाइज ट्वान्टी ट्वान्टी क्रिकेट खेले पनि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलहरू भने कम खेलेका थिए ।

आज हामी यहाँ पाँच यस्ता ठूला खेलाडीहरुको चर्चा गर्दैछौँ जसले आफ्नो करिअरमा एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

५. मोहम्मद रफिक

मोहम्मद रफिक बङ्गलादेशको तर्फबाट टेस्ट क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर हुन् । तर उनले एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २००६ मा उनले एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए । सो खेलमा उनले एक मात्र विकेट हात पारे भने पाँच बलमा १३ रन बनाएका थिए ।

४. जेसन गिलेस्पी

अष्ट्रेलियन टोलीमा ग्लेन मेग्रासँगै मुख्य तीब्र गतिका बलरका रुपमा खेलेका जेसन गिलेस्पीले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा भने अष्ट्रेलियाको लागि एक मात्र खेल खेल्ने मौका पाए । सन् २००५ मा इङ्ग्ल्यान्ड विरुद्धको खेल उनको लागि पहिलो र अन्तिम बन्न पुग्यो ।

उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै ४९ रन खर्चिए भने मात्र एक विकेट लिएका थिए । ब्याटिङ्गतर्फ भने उनले १८ बलको सामना गर्दै चार चौकाको मद्दतमा २४ रनको पारी खेलेका थिए । उनले क्रिकेटको सबैभन्दा लामो ढाँचा, टेस्टमा मौका पाए पनि ट्वान्टी ट्वान्टीमा भने अर्को अवसर प्राप्त गर्न सकेनन् ।

३. इन्जमाम उल–हक

पाकिस्तान क्रिकेटका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् इन्जमाम उल–हक । पाकिस्तानले सन् १९९२ मा एकदिवसीय विश्वकपको उपाधि हात पार्दाका सदस्य इन्जमामले टेस्ट र एकदिवसीय गरेर देशको जर्सीमा २० हजार भन्दा बढी रन बनाएका छन् । उनी एकदिवसीयमा पाकिस्तानको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

तर इन्जमामले एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २००६ मा ब्रिस्टोलमा भएको इङ्गल्यान्ड विरुद्धको खेलमा कप्तानी पनि गरेका थिए । उक्त खेलमा उनले अविजित ११ रन बनाउदै १४५ रनको लक्ष्य पार गराएका थिए । इन्जमामले सन् २००७ मा सबै संरचनाको क्रिकेटबाट सन्यास लिए भने फेरी ट्वान्टी ट्वान्टीमा पाकिस्तानको जर्सीमा देखा परेनन् ।

२. सचिन तेन्दुलकर

भारतीय टोलीका सचिन तेन्दुलकर क्रिकेटले पाएको सबैभन्दा उत्कृष्ट र महान क्रिकेट खेलाडी हुन् । तेन्दुलकरलाई भारतीयहरू भगवान नै मान्छन् । टेस्ट र एकदिवसीय खेलमा उनी नै सर्वाधिक रन बनाउने खेलाडी हुन् । त्यस्तै उनले टेस्ट र एकदिवसीयमा गरेर १०० वटा शतक प्रहार गरेका छन् ।

तर ’क्रिकेटका भगवान’ ले एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सचिनले सन् २००६ मा घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको एक मात्र ट्वान्टी ट्वान्टी खेलको श्रृंखला खेलका थिए । त्यस खेलपछि उनले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेनन् ।

उक्त खेलमा ओपनिङ्गमा आएका सचिनले १२ बलको सामना गर्दै दुई चौकाको मद्दतमा १२ रन बनाए । तर सचिनले इन्डियन प्रिमिएर लिगमा भने ७८ खेल खेलेका छन् ।

१. राहुल द्रविड

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान राहुल द्रविड ’द वाल’ को नामले परिचित छन् । द्रविड टेस्ट र एकदिवसीय खेलमा विश्व क्रिकेटले पाएको उत्कृष्ट खेलाडी हुन् । उनले टेस्ट र एकदिवसीयमा दुवैतर्फ १० हजार भन्दा धेरै रन बनाएका छन् । द्रविडले पनि एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

द्रविडले इङ्गल्यान्ड भ्रमणका क्रममा घरेलु टोली विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा ट्वान्टी ट्वान्टी खेलमा डेब्यु गरे र उनले सोहि खेलपछि ट्वान्टी ट्वान्टी क्रिकेटबाट सन्यासको घोषणा गरे । उनले आफुले खेलेको एक मात्र ट्वान्टी ट्वान्टी खेलमा ३१ रन बनाए ।

टेक्निकल ब्याट्सम्यानको रुपमा चिनिने द्रविड प्राय सुस्त गतिमा खेल्ने गर्दथे तर अचम्म लाग्दो कुरा के भने उनले आफ्नो एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा लगातार तीन छक्का प्रहार गरेका थिए ।

द्रविडले एक मात्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेले पनि इन्डियन प्रिमिएर लिगमा भने राजस्थान रोयल्स र रोयल च्यालेञ्जेर्स बेंगलोरबाट ८९ खेल खेले ।

Click to comment

Trending