Headline

उल्भ्सको युरोपियन यात्रा समाप्त, सेभिया र सख्तर सेमिफाइनलमा

Published

on

लुकास ओक्याम्पोसले ८८ औँ मिनेटमा निर्णयक गोल गरे पछी सेभिया उल्भ्सलाई १–० ले पराजित गर्दै युरोपा लिगको सेमीफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा स्पेनिस टोली सेभियाले अर्को इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । अर्को सेमिफाइनलमा सख्तर दोनेस्कले इटालियन टोली इन्टर मिलानको सामना गर्नेछ । युक्रेनियन क्लब दोनेस्कले मङ्गलबार नै भएको अर्को क्वार्टर फाइनलमा स्विट्जरल्याण्डको एफसी बासेललाई ४–१ ले हराएको थियो ।

यो सिजन निकै सुधारिएको प्रदर्शन गरेको उल्भ्सले १३ औं मिनेटमा पेनाल्टी पाएको थियो । तर राउल जिमिनेज चुक्न पुगेपछि सेभियालाई युरोपा लिगमा आफ्नो सफलतालाई निरन्तरता दिन अर्को मौका मिलेको छ । सेभियाले पाँच पटक युरोपा लिग जितिसकेको छ ।

हारसँगै उल्भ्स अर्को सिजन युरोपियन प्रतियोगितामा सहभागिता जनाउन सक्ने छैन । १९७१ पछि पहिलो पटक उल्भ्स युरोपियन प्रतियोगिताको क्वार्टर–फाइनलमा प्रवेश गरेको थियो र उसलाई अर्को सिजनको च्याम्पियन्स लिग खेल्नका लागि युरोपाको उपाधि जित्न आवश्यक थियो ।।

सख्तरको सहज जितमा दोस्रो मिनेटमै जुनियर मोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर टाइसनले अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा पनि उत्तिकै हावी रहेको सख्तरले ७५ औँ मिनेटमा एलन प्याट्रिकको पेनाल्टी मार्फत जित लगभग आफ्नो नाम लेखाएको थियो ।

८८ औँ मिनेटमा सख्तरका लागि डोमिल्सन डोस सान्टोसले गोल गरेका थिए । बासेलका लागि एक मात्र गोल निर्धरित ९० मिनेटपछि थपिएको इन्जुरी टाइममा रिकी भान वुल्फ्सविन्केलले गरेका थिए ।

Click to comment

Trending