Headline

एम्बाप्पे च्याम्पियन्स लिगका लागि पिएसजीको टोलीमा

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) ले च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टा विरुद्धको खेलका लागि आफ्नो टोलीमा किलियन एम्बाप्पेलाई पनि समेटेको छ ।

फ्रेन्च कप फाइनलका क्रममा घाइते भएका एमबाम्पेको चोट ठिक हुन कम्तिमा तीन हप्ता लाग्ने बताउदै क्लबले विज्ञप्ति जारी गरेको थियो । सेन्ट एटिने डिफेन्डर लोइच पेरिनले घातक फाउल गरेपछि एमबाप्पे फ्रेन्च कपको फाइनलमा मैदान छोड्न बाध्य भएका थिए । पछि गोलीगाँठोमा चोट लागेको थाहा भएको थियो ।

पिएसजीले १–० ले उपाधि जितेपछि उनले बैशाखी टेकेरै टिमसँग खुशियाली मनाएका थिए । पिएसजीले एट्लान्टासँग अगष्ट १३ मा खेल्ने छ । क्वार्टर फाइनल र सेमिफाइनलमा मात्र एक लेगको हुनेछ ।

“समय निकै कम छ । हामीले हाम्रो टोलीको डाक्टरसँग सल्लाह गरेका थियौ र फेरी अर्को पटक यस विषयमा सरसल्लाह हुन्छ । हामी एम्बाप्पे एट्लान्टासँगको खेल सम्ममा ठीक हुन्छन् भन्नेमा आशावादी छौ । तर उनी खेल्न नसक्ने भएको खण्डमा बेञ्चमा नै बस्ने छन्,” पिएसजीका बोस थोमस टचेलले पत्रकार भेटघाटमा बताए ।

पिएसजीले सार्वजनिक गरेको २८ सदस्यीय टोलीमा नेमार, एन्जेल डी मारिया, थियगो सिल्भा, माउरो इकार्डी रहेका छन् । उनीहरूलाई यस अघि अभ्यास खेलका क्रममा विश्राम दिइएको थियो ।

एट्लान्टालाई पराजित गर्दै सन् १९९४–९५ को सिजन पछि पहिलो पटक सेमिफाइनलमा पुग्ने लक्ष्य पिएसजीको हुनेछ । सेमिफाइनलमा पुगेको खण्डमा उसले एट्लेटिको म्याड्रिड र आरबी लाइइपजिग बीचको विजेताको सामना गर्नेछ ।

पिएसजीले बोरुसिया डर्टमण्डलाई समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश पाएको हो ।

Click to comment

Trending