Headline

रियल म्याड्रिड र युभेन्टसको च्याम्पियन्स लिगबाट बिदाइ

Published

on

रफाइल भारानेले गरेको दुई डिफेन्सिभ गल्तीको कारण १३ पटकको बिजेता रियल म्याड्रिड युएफा च्याम्पियन्स लिगबाट बहिरिएको छ ।

म्यानचेस्टर सिटीले शुक्रबार राति भएको प्रि–क्वार्टरफाइलनमा रहिम स्टर्लिङ र ग्याब्रियल जिजसको गोलको मद्धतमा रियललाई २–१ ले हरायो । म्याड्रिडमा भएको पहिलो लेगमा पनि २–१ ले पराजित भएको रियल समग्रमा ४–२ ले हार्न पुग्यो ।

अर्को खेलमा क्रिष्चियानो रोनाल्डोको युभेन्टस फ्रेञ्च क्लब लायोनलाई २–१ ले पराजित भए पनि अवे गोलका आधारमा हार्न पुग्यो । युभेन्टस पहिलो लेगमा लायोनको घरेलु मैदानमा १–० ले हारेको थियो । समग्रमा २–२ को बराबरी भएपनि अवे लायोनले टुनिरमा गोल गरेपछि उसले अन्तिम ८ को यात्रा तय गरेको हो ।

यो सँगै च्याम्पियन्स लिगको सर्वाधिक बिजेता (रियल म्याड्रिड) र सर्वाधिक गोलकर्ता (रोनाल्डो) दुवै बाहिरिएका छन् । क्वार्टर–फाइनलमा अब लायोन र सिटी आमने–सामने हुनेछन् ।

सिटीले खेलको नवौँ मिनेटमै स्टर्लिङको गोलबाट खाता खोलेको थियो । करीम बेन्जेमाले २८ औं मिनेटमा खेल बराबरी गरेपनि जिजसले ६८ औं मिनेटमा गोल गर्दै रियललाई नराम्रो पराजयको स्वाद चखाएको थियो ।

स्पेनिस ला लिगामा लकडाउन सुचारु भएपछिको रियलको अपराजित यात्रा च्याम्पियन्स लिगमा आएर टुँगिएको हो ।

टुरिनमा युभेन्टसका लागि दुवै गोल रोनाल्डोले गरेका थिए भने लायोनाका लागि महत्वपूर्ण अवे गोल मेम्पिस डिपेले गरेका थिए । डिपेले खेलको १२ औँ मिनेटमै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फ्रेञ्च टोलीलाई अग्रता दिलाएका थिए । उनको गोलपछि युभेन्टसलाई क्वार्टर फाइनलमा स्थान बनाउन ३ गोल आवश्यक थियो ।

४३ औँ मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत खेल १–१ को बराबरीमा ल्याए । दोस्रो हाफको ६० औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई जिताएपनि च्याम्पियन्स लिगमा कायम राख्न सकेनन् ।

Click to comment

Trending