Headline

व्यवसायिक फुटबलर बन्ने बोल्टको आशामा तुषारापात

Published

on

बिश्व किर्तिमानी धावक उसेन बोल्टको व्यवसायिक फुटबल खेलाडी बन्ने योजनामा धक्का लागेको छ ।

बोल्टले अस्ट्रेलियाको ए–लिग मा आफूलाई प्रमाणित गर्न उचित मौका नपाएको दुखेसो पोखेका छन् । ओलम्पिक्समा आठवटा स्वर्ण पदक जितेका बोल्टले सन् २०१८ मा एथलेटिक्सबाट सन्यास लिए पछि सानो हुँदा आफ्नो फुटबल खेलाडी बन्ने सपना पुरा गर्न सेन्ट्रल कोस्ट मराइनर्समा पुगेका थिए ।

उनले त्यस सिजन सुरु हुनु अघिको मैत्रिपूर्ण खेलमा दुई गोल गर्दै विश्वका खेलकुद प्रेमी र मिडियाको राम्रै ध्यान खिच्न सफल भएका थिए । तर आयरल्याण्डका पुर्व स्ट्राइकर एन्डी कियोगले उनको खेल्ने शैली प्रति प्रश्न उठाए पछि क्लबसँगको सम्झौता अघि बढ्न सकेन ।

सेन्ट्रल कोस्ट मराइनर्सबाट खेल्ने क्रममा बोल्ट

“शायद मैले उचित मौका पाउन सकिन,” बोल्टले भने । “मैले सोचे अनुसार पनि गर्न सकिन तर मैले अझै राम्रो गर्न सक्थे । मैले त्यो अवसर गुमाए तर म अघि बढ्नु पर्छ ।”

१०० मिटर र २०० मिटरमा विश्व किर्तिमान कायम गरेका ३३ बर्षिया बोल्टले फुटबल खेलाडी बन्ने आफ्नो सपना पुरा गर्न जर्मनी, दक्षिण अफ्रिका र नर्वेका क्लबहरूमा पनि ट्रायल दिएका थिए । उनले आफूले फुटबललाई माया गर्ने भएका कारण पनि यस उमेरमा आएर फुटबल खेलाडी बन्ने योजना बुनेको बताए ।

Click to comment

Trending